वरिष्ठ नेता देउवाद्धारा पहिलो मतदान

100_2760काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध कारणले ४५ मिनेट ढिला भई ८ः४५ बजेबाट सुरु भएको हो ।

मतदानका लागि मतदान स्थलमा पाँचवटा छुट्टाछुट्टै ब्लकभित्र १३५ मतदान स्थल राखिएको छ । जसमा सभापतिका लागि छुट्टै, महामन्त्री र कोषाध्यक्षका लागि छुट्टै मतदानस्थल रहेको छ । यसैगरी खुल्ला सदस्य, प्रदेश सदस्य र आरक्षणका लागि पनि छुट्टाछुट्टै मतदानस्थल राखिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सबैभन्दा पहिला मतदान गर्नुभएको छ भने अर्को सभापतिका उम्मेदवार महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो क्रममा मतदान गर्नुभएको छ । यस्तै डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, महामन्त्री प्रकाशमान सिंहले पनि मतदान गरिसक्नुभएको छ ।

सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तीनै समूहबाट महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा काँग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्कीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

रासस

२३ फागुन २०७२, आइतवार ०४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु