प्रधानमन्त्री ओली आज भारत जादैँ, भ्रमणमा ८३ जना
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमणका सिलसिलामा शुक्रबार अपरान्ह नयाँ दिल्ली जादैछन् । ओली नेतृत्वको जम्बो भ्रमण टोलीमा ४६ जना सरकारी प्रतिनिधि तथा २९ जना व्यापारी गरी ८३ जना रहेछन् ।
भ्रमण टोली ठूलो भएपछि दिल्लीस्थित नेपाली दूतावासलाई उनीहरुको व्यवस्थापन गर्न चटारो परेको छ ।
यसअघि व्यवसायीहरुको टोली आफ्नै खर्चमा आउने भनिए पनि पछिल्लो समय परराष्ट मन्त्रालयले उनीहरुको आवागमन तथा खानेबस्ने लगायत सबै खर्च व्यहोर्न दूतावासलाई निर्देशन दिएको छ ।
दूतावास स्रोतका अनुसार व्यवसायीहरुलाई पाँचचारे होटल ताजमान सिंहमा राख्नका लागि कोठा बुक गरिएको छ ।
परराष्टले सबैलाई अलग अलग डिलक्स रुममा राख्ने व्यवस्था मिलाउन भने पनि डिलक्स रुम अभाव भएपछि केहिलाई डबल बेडको रुम बुक गरिएको छ । यसअघि हुने भ्रमणहरुमा सरकारी टोलीमा समावेश भए पनि व्यवसायीहरु आफ्नै खर्चमा आउँथे ।
ठूलो संख्यामा व्यवसायीको खर्च व्यहोर्नुपर्दा सरकारको बजेट ह्वात्तै बढेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई आवश्यक खर्च पठाइसकेको स्रोतले बतायो ।
स्रोतका अनुसार भारतले भ्रमण टोलीमध्ये २३ जनाको मात्रै खर्च व्यहोर्ने छ । बाँकीको खर्च दूतावासको जिम्मामा परेको छ । दूतावासका एक अधिकारीले भारतले दिएको कोटाभन्दा अत्यधिक संख्यामा प्रतिनिधिहरु आउँदा समस्या भएको बताए ।
७ फागुन २०७२, शुक्रवार ०२:३५ बजे प्रकाशित