हराएकी बालिका अभिभावकलाई दिइयो
गौशाला, ७ फागुन । भारत बिहार राज्यको सीतामढी जिल्लाको भाडसर फुल्हट्टा गाउँबाट विगत चारदिनदेखि हराइरहेकी एक बालिकालाई महोत्तरी प्रहरीले बिहीबार अभिभावकको जिम्मा लगाएको छ ।
भाडसर फुल्हट्टा पञ्चायत वडा नं १ बस्ने मोहन रायकी छोरी सात वर्षीया सीमा कुमारीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले महिला तथा बालबालिका अधिकारकर्मी, पत्रकारसहितको रोहवरमा उनका बुबा मोहनको जिम्मा लगाएको छ ।
बोल्न नसक्ने र कम सुन्ने ती बालिका गत सोमबार बिहान ४ बजे अचानक घरबाट हराएकी थिइन् भने उनी महोत्तरी जिल्लाको नैन्ही बजारमा बुधबार फेला परेकी प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।
नैन्ही बजारमा प्रहरीलाई भेटेकी उनलाई प्रहरी चौकी नैन्हीका प्रहरीहरुले ल्याएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएका थिए भने बिहीबार जिल्ला प्रहरी कार्यालयको महिला सेल इन्चार्ज प्रहरी सहायक निरीक्षक रमा थापाले उनका बुबा मोहन रायलाई बुझाउनुभएको छ ।
रासस
७ फागुन २०७२, शुक्रवार ०२:२७ बजे प्रकाशित