नेपालको संविधान विश्वकै उत्कृष्ट् : नेम्वाङ
इलाम, २ फागुन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सबैको सहमतिमा जारी भएको संविधान भएकाले यसलाई पुनः संशोधन गरेर अघि बढ्न सकिने बताएका छन् ।
नेकपा (एमाले) इलामद्वारा गजुरमुखीमा शनिबार आयोजित क्षेत्र नं २ को कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेम्वाङले संविधान संशोधन गरेर असहमत राजनीतिक दलको विचार र भावना संविधानमा समेटिने बताए ।
अहिलेको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउँदै यसको सफल कार्यान्वयन भएमा मुलुक समृद्धितर्फ अघि बढ्ने विचार उनले व्यक्त गरे ।
“संविधानमा चित्त नबुझेमा संशोधन गर्दै अब आर्थिक विकासमा लाग्नुपर्छ”, उनले भने – “मुलुकमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकासमा सबै एक भएर लाग्नुको विकल्प छैन ।”
संविधानमा चित्त नबुझेका कुरालाई संसद्बाट अघि बढाउनुपर्नेमा सडक र सीमामा बसेर आन्दोलन गर्नु उचित नभएको र अहिले आन्दोलनसमेत समाप्त भएकाले अब संसद्बाट निकास खोज्न आग्रह गरे ।
पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै इलामको क्षेत्र नं २ बाट निर्वाचित उहाँले यस क्षेत्रको विकासका लागि जिल्ला तहदेखि केन्द्र तहसम्म पहल र प्रयास जारी राख्नेसमेत बताए ।
जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिकोणले पछाडि परेको बताउँदै उनले सडक, विद्युत्, खानेपानी र स्वास्थ्य क्षेत्रको विकासका लागि पहल गर्ने विश्वास दिलाए ।
१ फागुन २०७२, शनिवार २१:२५ बजे प्रकाशित