एकसाता भित्रै माओवादीहरुबीच एकता : प्रचण्ड

Puspa_Kamal_Dahal_Prachanda_angryकाठमाडौँ, २ फागुन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकसाताभित्रै माओवादी घटकबीच एकताको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘२१औँ जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले विभिन्न टुक्रामा विभक्त भएर बस्दा माओवादी आन्दोलन नै समस्यामा पर्न थालेको र त्यसले नेपालको कम्युनिस्ट आन्दोलनसमेत नकारात्मक दिशातिर जाने हो कि भन्ने आशङ्का बढेकाले एकता हुने विश्वास व्यक्त गरेका थिए ।

माओवादी घटकले आफूले विगतमा गरेका सबै गल्ती सच्याएर अगाडि बढ्न तयार भएको उल्लेख गर्दै उनले अब एकता प्रक्रियालाई कोही कसैले पनि रोक्न नसक्ने स्पष्ट पारे ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको बलमा नै २०६२÷६३ को आन्दोलन भएको उल्लेख गर्दै उहाँले संविधानसभाबाट संविधान जारी भएको तथा जनताका अधिकारसमेत संस्थागत भएकाले बाँकी अधिकार प्राप्तिका लागि अझै सङ्घर्षको जरुरी रहेको बताए ।

पार्टी एकताका लागि आफूले मोहन वैद्य, मणि थापा, मातृका यादव र नेत्रविक्रम चन्द सबैसँग कुरा गरेको उल्लेख गर्दै एकाध दिनमा नै त्यसको सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका थिए ।

जनयुद्ध दिवसको अवसरमा सबै माओवादी घटकबाट पार्टी एकताको पक्षमा सन्देश दिनु र सोही आशयको वक्तव्य दिनु जायज भएको भन्दै उनले वातावरण क्रमशः सकारात्मक बनेको बताए ।

अध्यक्ष दाहालले मुलुक, जनता र माओवादी आन्दोलनलाई अगाडि बढाउन पनि सबै क्रान्तिकारी कम्युनिस्ट शक्ति एकै ठाउँमा आउनै पर्नेमा जोड दिए ।

एमाओवादीका सचिव एवम् उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माक्र्सवाद र माओवादको सबैभन्दा बढी व्याख्या गर्ने डा बाबुराम भट्टराईले क्रान्ति र पार्टी नै परित्याग गरेर धोका दिएको आरोप लगाए ।

एमाओवादी नै नयाँ शक्ति भएको उल्लेख गर्दै उहाँले धनी र गरिबबीचको खाडल बढाउने आर्थिक विकासले कोही कसैको हित नगर्ने भएकाले आफूहरुले अगाडि सारेको समाजवादी क्रान्तिको ढाँचा नै वास्तविक र यथार्थको नजिक रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रवक्ता दीनानाथ शर्मा, स्थायी समिति सदस्य जनार्दन शर्मा र अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलले पार्टीले अवलम्बन गर्नुपर्ने कार्यनीति र जनयुद्ध दिवसको महत्वमाथि जानकारी गराएका थिए ।

यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि आज राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौँको सहिदगेट, सुनधारा, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर ¥याली समापन भएको थियो । शान्तिवाटिकामा आयोजित सभालाई माओवादीका महासचिव चन्द, नेताहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विकलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

राज्य सत्ता परिवर्तन गर्ने भन्दै तत्कालीन नेकपा ९माओवादी०ले २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष गरेको थियो । विसं २०६३ मङ्सिर ८ गते शान्ति सम्झौतासँगै सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । शान्ति प्रक्रियामा आएको १० वर्ष नबित्दै सो माओवादी पार्टी चार टुक्रामा विभाजित भएको छ ।

रासस

१ फागुन २०७२, शनिवार २१:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु