पुनर्निर्माण प्राधिकरणको सीईओमा ज्ञवाली नियुक्त भएको १ महिना पुरा

काठमाडौ, ११ माघ । पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएको १ महिना पुरा भएको छ । प्राधिकरणले पुर्णता पाइसकेको भएपनि जनशक्ति अभावले काम सुरु गर्न सकेको छैन । २ सय ८ जनाको दरबन्दी स्वीकृत गरेको प्राधिकरणमा अहिलेसम्म एक जना सहसचिवलाई कामु सचिव बनाएर पठाउनुबाहेक अरू कर्मचारी पठाइएको छैन ।
सरकारले गएको पुस ११ गत महाभूकम्पको नौ महिनापछि सरकारले गठन गरेको ‘पुनर्निर्माण प्राधिकरण’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञवालीलाई नियुक्त गरेको थियो ।
नगरविकास कोषका कार्यकारी निर्देशक समेत रहेका ज्ञवालीले नियुक्ती पाएपछि सीईओ ज्ञवालीले समुदायको परिचालनलाई मुख्य प्राथमिकता दिँदै पुनर्निर्माणका काम अघि बढाउने बताएका थिए ।
‘समुदायलाई परिचालन गर्दा मात्र अपनत्व हुन्छ, त्यसैले मेरो जोड त्यसैमा हुन्छ ।’ उनले भनेका थिए । सरकारी संयन्त्र र राजनीतिक नेतृत्व समेतको उत्तिकै सहयोग आवश्यक पर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी काम अघि बढाउने बताएका ज्ञवालीले काम सुरु गर्न सकेका छैनन ।
प्राधिकरण सीईओले शिक्षा, स्वास्थ्य, भवन निर्माण, पुरातत्त्वसम्बन्धी काम गर्ने सरकारी निकायहरूसँग समन्वय गरी पुनर्निर्माणको मुख्य काम अघि बढाउनुपर्ने हुन्छ । पुनर्निर्माणमा सघाउन तयार विदेशी दातृ निकायहरूसँग पनि समन्वय गर्ने जिम्मेवारी सीईओको हो । भूकम्पलगत्तै भएका सम्मेलनमा पुनर्निर्माणका लागि रकम दिने प्रतिबद्धता दातृ निकायहरूले गरेका छन् । संसद् अवरुद्ध गर्दै आएका आन्दोलनरत मधेसी दलहरूले पनि पुनर्निर्माण विधेयक पारित गर्न सघाएका थिए ।
११ माघ २०७२, सोमवार ०३:४२ बजे प्रकाशित