चार मन्त्री एकै पटक किन पुगे थानकोट डिपोमा ?
काठमाडौँ, ९ माघ । बजारमा पेट्रोलियम पदार्थको अभाव खड्किएका बेला नेपाल सरकारका चार मन्त्रीले शुक्रबार नेपाल आयल निगमको थानकोटस्थित डिपोको आकस्मिक निरीक्षण गरेका छन् ।
निगमको मौज्दात क्षमता र वितरण प्रणालीलाई सुधार्ने उपायबारे जानकारी लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन र जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साँझ निगमको थानकोट डिपोबारे जानकारी लिएका छन् ।
निरीक्षणका क्रममा निगमको मुख्य डिपो थानकोटमा कति इन्धन मौज्दात रहेको र वितरण प्रणालीमा केही सुधार गर्न सकिन्छ कि भनेर सबै मन्त्रीले जिज्ञासा राखेकामे निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।
‘अहिले कति इन्धन छ, कति दिनलाई वितरण गर्न पुग्छ, वितरण प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरुले जिज्ञासा राख्नुभयो र आवश्यक निर्देशन दिएपछि लेखेर पठाउने भन्नुभएको छ”– उनले भने ।
रक्सौल बाहेकका विभिन्न सीमा नाकाबाट नियमितजसो इन्धन र केही ग्यासका बुलेट आइरहे पनि बजारमा विद्यमान अभावलाई ध्यानमा राखी निगमले वितरण प्रणालीलाई प्रभावकारी बनाउने भएको छ ।
सो अनुरुप निगमले काठमाडौँ उपत्यका बाहिरका पम्पमा जम्मा भएका इन्धनलाई उपत्यकामा भित्र्याएर वितरण प्रणालीमा सुधार गर्ने तयारी गरेको छ ।
प्रवक्ता घिमिरेले ग्यास वितरणमा अझै समस्या रहे पनि पेट्रोलियम पदार्थ वितरणलाई केही सहज बनाउन दुई दिनभित्र उपत्यका बाहिरका इन्धन भित्र्याएर वितरणमा सुधार ल्याइने जानकारी दिए ।
८ माघ २०७२, शुक्रवार १८:५० बजे प्रकाशित