सुदूरपश्चिममा हिमपात, जनजीवन प्रभावित !

बैतडी, ६ माघ । मङ्गलबार बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण गए राति बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ ।
हिमपातले बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बैतडी सदरमुकाम, देहिमाडौँ, गुरुखोला, नागार्जुन, हटैराज, कटौजपानी लगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए ।
त्यस्तै दार्चुलाको सदरमुकाम खलङ्गा, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्कर लगायत क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
चिसोबाटै बच्न दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । दार्चुलामा यसअघि पुसको दोस्रो साता र चौथो साता पनि हिमपात भएको थियो ।
डडेल्धुराको सदमुकामलगायत भीमदत्त राजमार्गका विभिन्न स्थानमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै बझाङको जयपृथ्वीबहादुर राजमार्ग आसपास लगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
हिमपातका कारण अत्यधिक चिसो हुँदा वृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग प्रभावित भएका छन् ।
६ माघ २०७२, बुधवार ०३:३१ बजे प्रकाशित