अब आर्थिक विकासमा लाग्नुपर्छ : उपप्रम थापा

दमक, ३० पुस । उपप्रधानमन्त्री कमल थापाले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेकाले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासको मार्गमा सबैको ध्यान जानुपर्ने बताएका छन् ।
बिहीबार झापाको दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले अहिले विभिन्न अप्ठ्यारा देखापर्नु स्वाभाविक भएको बताउँदै मन्त्री थापाले अब मुलुकको आर्थिक रुपान्तरणको लक्ष्यमा सबै एक भई जुट्नुपर्ने बताएका हुन् ।
वर्तमान सरकार राष्ट्रवादी सरकार भएको टिप्पणी गर्दै उनले मुलुक लामो समयदेखि विभिन्न खाले समस्यामा अल्झिएर समय खेर फाल्नुपरेकाले अब त्यस्तो हुन नदिन राजनीतिक दलमा बुद्धिमत्ता आउनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा उनले संविधान विशिष्ट प्रजातान्त्रिक ढङ्गले जारी भएको तथा यसमा असहमति राखेर मधेसवादी लगायतका केही दलले असन्तुष्टी राख्दा आत्तिनुपर्ने अवस्था नभएको भनाइ राखे ।
मधेसमा जारी आन्दोलनको अर्थ नभएको उल्लेख गर्दै उहाँले अब जनतालाई दुःख दिएर तथा जङ्गलमा बन्दुक पड्काएर आफ्ना माग स्थापित गराउने गलत राजनीतिक चरित्र उपयुक्त बाटो हुन नसक्ने ठोकुवा गरे । “मधेसवादी आन्दोलन र नाका अवरोध गरेर माग पूरा हुँदैनन्”, उहाँले सरकार संविधान संशोधनमार्फत नै मधेसको मागलाई सम्बोधन गर्न हदैसम्मको लचक भएको स्पष्ट पार्नुभयो । मधेसको गतिरोध छिट्टै अन्त्य हुने उल्लेख गर्नुहुँदै मन्त्री थापाले भन्नुभयो–“अब आन्दोलन होइन, मुलुकको राष्ट्रियता बलियो बनाउन तथा मुलुकलाई समृद्ध बनाउन हातेमालो गरेर अघि बढौँ ।”
३० पुस २०७२, बिहीवार ०७:१७ बजे प्रकाशित