वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई घर फर्कायो

नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ ।

नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज अन्तर्राष्ट्रिय उडानमा छन् । त्यसमध्ये २७४ सीट क्षमताको दुई र १५८ सीट क्षमताका दुई जहाज उद्धार उडानमा लगाइएको छ ।

सरकारले १ असारबाट नेपालीको उद्धारका लागि उडान शुरु गरेको थियो । यो अवधिमा करिब ५० हजार ५ सयभन्दा बढी नेपाली घर आएका छन् । यसमा करिब एक दर्जन एयरलाइन्सबाट उडान भएको छ । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स उद्धार उडानमा खटिएका थिए । श्री एयरलाइन्स र बुद्ध एयरले समेत चार्टर्ड उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले नेपालीको उद्धार शुरु हुनु अगाडि विभिनन ३० वटा चार्टर्ड उडान गरेको थियो । त्यसमध्ये ९ वटा कार्गो उडान भएका भएका थिए । २१ वटा उडान भने यात्रु बोक्नका लागि चार्टर्ड भएको थियो । त्यस समय अष्टे«लिया र जापानसम्म उडान भएका थिए । ती उडानबाट भने नेपालमा अड्किएका विदेशी नागरिक नागरिक आफ्नो मुलुक फर्किएका थिए ।

नेपाल एयरलाइन्सले अहिलेसम्म नेपाली र विदेशी नागरिकको उद्धार र कार्गो उडानका दौरान कुल १२७ वटा उडान गरिसकेको छ । यी उडानबाट भएको आम्दानीको कुल हिसाव भने सार्वजनिक गरेको छैन ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले कुल आम्दानी भने टिकटसँग भिडाएर हेर्नु पर्ने भएकाले केही समय लाग्ने जानकारी दिइन् ।

नेपाल एयरलाइन्सले नेपालीको उद्धारका क्रममा भने भाडादर नै सार्वजनिक गरेको थियो । सोही भाडादरका आधारमा नेपाल एयरलाइन्सले उद्धार उडानका दौरान बोकेका कुल १८ हजार भन्दा बढी यात्रुबाट ८५ करोड ९ लाख रुपैयाँ अनुमानित आम्दानी गर्न सकेको छ । यो विदेशीको उद्धार र कार्गो उडानभन्दा बाहेकको आम्दानी हो ।

३१ साउन २०७७, शनिवार ११:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु