मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओली र मन्त्री भुसालबीच आधा घन्टा भनाभन

पछिल्लो मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कृषिमन्त्री घनश्याम भुसालबीच चर्काचर्की भएको खबर बाहिरिएको छ । मलका विषयलाई लिएर आधा घन्टाजति बैठकमा दुवै जनाबीच भनाभन परेको हो ।

गएको बिहीबार मन्त्रीपरिषद् बैठकको कार्यसूची धेरै थिएन । संविधान दिवसका दिन राष्ट्रपतिले बाँड्ने मानपदवीबारे टुंगो लगाउने एजेन्डाबीच दुवैबीच बहस चर्किएको हो । तर स्रोतका अनुसार उक्त बैठकमा मल ल्याउने विषयले पनि प्रवेश पाएको थियो ।

मन्त्रीपरिषद्का एक सदस्यका भन्छन्, ‘विभागीय मन्त्रीका हिसाबले भुसालले कृषि कम्पनी लिमिटेडले मल ल्याउने प्रस्ताव गरेका थिए । तर ओली यसमा सहमत भएनन् ।’ उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालयको सेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ल्याउनुपर्छ भन्ने मत ओलीको थियो । यसै विषयले बैठकको आधा घन्टाको समय खाइदियो ।

निजी स्वामित्व रहेकाले कर्पोरेसनबाट ल्याउने कुरामा भुसाल सहमत थिएनन् भने कम्पनीबाट ल्याउने कुरामा ओली सहमत हुन सकेनन् । फलतः दुवैबीच भनाभन मात्र भयो, बैठकले केही निष्कर्ष दिन सकेन ।

उक्त स्रोतका अनुसार भुसाल, ‘कृषि सामग्री ल्याउनै कम्पनी खडा गरिएकाले उसैलाई दिनुपर्ने, बिचौलिया प्रवेश गराउन नहुने’ पक्षमा थिए । ओलीको विचार चाहिँ, ‘कृषि कम्पनीले ल्याउन सक्ने भए यो बेला मलको हाहाकार नै हुन्न्थ्यो’ भन्दै प्रतिवाद गरिरहेका थिए ।

प्रधानमन्त्री मात्र नभइ मुख्य सचिव र वाणीज्य सचिव पनि साल्ट ट्रेडिङलाई मल ल्याउन दिनुपर्ने पक्षमा छन् । भुसाल भने कृषि सामग्री कम्पनीकै पक्षमा थिए । मलको विषयलाई लिएर भित्रभित्रै अर्थराजनीति भइरहेको विश्लेषकहरू बताउँछन् ।

५ असोज २०७७, सोमवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु