सार्वजनिक भयो नागरिक एपको फुल भर्सन
आइतबार सरकारले डिजिटल नेपालमा सबैभन्दा ठूलो परियोजनाका रुपमा दिएको नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ ।
आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरमा बेटा भर्सन ल्याएको झन्डै साढे तीन महिनापछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एपको फुल भर्सन सार्वजनिक गरिको हुन् ।
सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिने उद्देश्यले गत माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरेको थियो ।
नागरिक एप सार्वजनिक भएको हप्तादिन नहुँदै ३ लाख भन्दा बढिले एप डाउनलोड गरिसकेका थिए । बेटा भर्सनमा रहेका समस्याहरुलाई समाधान गरेर एप सार्वजनिक गरेको मन्त्री गुरुङले बताएका छन् ।
परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको सरकारले सुरुमा यसमा ९ ओटा सेवाहरु समावेश गरेको थियो ।पछि एपमा अन्य सेवाहरु थप गर्दें लैजाने सरकारको योजना थियो ।
एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।
एपबाटै नयाँ प्यान नम्बर समेत लिन सकिने छ । अब सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ ।
१९ वैशाख २०७८, आइतवार १३:२६ बजे प्रकाशित













