पहिलो त्रैमासमा फेसबुक र एप्पलको आम्दानीमा उच्च वृद्धि

दुई अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पल र फेसबुकले चालू सन् २०२१ को पहिलो त्रैमासमा उच्च आम्दानी तथा मुनाफा गर्न सफल भएका छन् ।

पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार पहिलो त्रैमासिक अवधिमा फेसबुकको कूल आम्दानीमा ४८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थात् जनवरी देखि मार्च सम्मको अवधिमा फेसबुकले कूल २६ अर्ब १७ करोड आम्दानी गरेको छ । यसबाट फेसबुकले खूद मुनाफा साढे ९ अर्ब डलर गर्न सफल भएको छ ।

उता महामारीका बेला उपभोक्ताहरु अनलाइन सपिङतर्फ मोडिएको बेला डिजिटल विज्ञापनमा भएको तिब्र वृद्धि तथा विज्ञापन शुल्कमा पनि वृद्धि हुँदा फेसबुकलाई ठूलो फाइदा पुगेको छ ।

पछिल्लो रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पनि १० प्रतिशतको बढोत्तरी भई २ अर्ब ८५ करोड पुगेको छ ।

त्यस्तै पछिल्लो पटक सार्वजनिक गरेका फाइभ जी आइफोनको लोकप्रियतासँगै एप्पलले सन् २०२१ का सुरूका ३ महिनामा ८९ अर्ब ६० करोड डलर आम्दानी गरेको छ ।

त्यसमध्ये खूद मुनाफा २३ अर्ब ६० करोड डलर रहेको छ । यो मुनाफा कुनैपनि त्रैमासिकमा एप्पलले गरेको अहिलेसम्मकै बढी मुनाफा हो ।

महामारीका बेला एप्पलका प्रडक्टहरुको विक्रिमा देखिएको ऐतिहासिक विक्रीदर निरन्तर रहेको देखिएको छ ।

पछिल्लो त्रैमासिक अवधिमा महंगो मूल्यको आइफोन १२ मात्र नभई महामारीका बेला घरबाटै काम गर्ने कर्मचारी तथा विद्यार्थीहरुका कारण म्याक कम्प्युटर र आइप्याण्डको बिक्रि पनि उच्च रह्यो ।

बितेको त्रैमासिकमा आइफोन बिक्रिबाट मात्र एप्पलले ४७ अर्ब ९० करोड आम्दानी गरेको छ ।

त्यस्तै म्याक कम्प्युटरको बिक्रिबाट उक्त ३ महिनामा एप्पलले ९.१ अर्ब आम्दानी गर्यो भने आइप्याडको बिक्रिबाट ७.८ अर्ब डलर आम्दानी गर्यो।

यस अवधिमा म्याकको बिक्रिमा ७० प्रतिशत तथा आइप्याण्डको बिक्रिमा ७९ प्रतिशतले वृद्धि भएको एप्पलले जनाएको छ ।

वर्षको पहिलो त्रैमासिक भएको आम्दानीको वृद्धि आगामी दिनमा सुस्त हुनसक्ने अनुमान फेसबुकको छ ।

खासगरी एप्पलले आइफोनको प्राइभेसी सम्बन्धी नियममा गर्ने परिवर्तनले फेसबुकको विज्ञापनबाट हुने आम्दानीमा नकारात्मक असर पार्ने फेसबुकले जनाएको छ ।

१६ वैशाख २०७८, बिहीवार १३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु