भारतमै उत्पादन कोरोनाका ३ खोप, मानिसमा परीक्षण हुँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारी नियन्त्रण गर्न भारतमा तीनवटा खोप परीक्षण भइरहेको बताएका छन् ।
भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले आफ्नै देशका वैज्ञानिकले ती खोप तयार पारेका जानकारी दिए ।
उनका अनुसार तीनवटै खोपको परीक्षण फरक–फरक चरणमा छन् । उनले खोपको परीक्षण छिट्टै सफल हुने विश्वास पनि व्यक्त गरे । लगत्तै ती खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनको भनाइ थियो ।
‘तीनवटा खोपको परीक्षण अहिले फरक–फरक चरणमा भइरहेको छ । हाम्रा वैज्ञानिकले परीक्षण सफल भएको जानकारी दिएलगत्तै उक्त खोप सर्वसाधारको पहुँचमा पुर्याउन सरकारले ठोस कार्ययोजनासमेत तयार पारिसकेको छ’, उनले भने ।
कोरोना महामारी बढ्दै गएपछि विश्वका थुप्रै राष्ट्र यसको उपचार पत्ता लगाउन सक्रिय छन् । भारतले पनि देशका विभिन्न स्थानमा रहेको आफ्ना स्वास्थ्य अनुसन्धान केन्द्रमार्फत खोप परीक्षण गर्दै आएको छ । भारतमा बायोटेक इन्टरनेसल, जाइडस क्याडिला र सिरम इन्स्टिच्युट अफ इन्डियाले विभिन्न चरणमा खोप परीक्षण गरिरहेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रमध्ये भारत एक हो । भारतमा २५ लाख ८७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भइसकेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ।
यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो राष्ट्रमा कोरोना भाइरसविरुद्घको खोपको सफल परीक्षण भइसकेको बताएका थिए । उनले गत मंगलबार विश्वमा पहिलो पटक कोभिड—१९ को खोप आफ्नो देशमा दर्ता भएको घोषणा गरेका थिए । उनले उक्त खोप पूर्णरूपमा सुरक्षित रहेको दाबी पनि गरेका थिए ।
३२ साउन २०७७, आइतवार ०६:५३ बजे प्रकाशित





