झलनाथ खनाललाई १२:३० बजे थप उपचारका लागि दिल्ली लगिदै

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै छ ।

उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

त्यसबेला झलनाथको सचिवालयले समाचारको खण्डन गरेको थियो । तर, नर्भिक अस्पताल स्रोतले भने मिर्गौला फेल भएको पुनःपुष्टि गरेको छ ।

‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ ।

नर्भिकले झलनाथको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका छन् ।

‘हामीले उपचार गर्न सक्छौं भनेका हौं । तर, उहाँहरुले पहिलेदेखि एपोलोमा देखाइरहनु भएको रहेछ । अहिले पनि एपोलोको डाक्टरसँग कुरा गर्नुभयो र डाक्टरको सल्लाहमा नै लैजान लाग्नुभएको हो,’ स्रोतले भन्यो ।

खनाललाई एक महिना अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । त्यसबेला उनी नर्भिक अस्पतालमा नै उपचार गराएर घर फर्केका थिए । अहिले ‘पोस्ट कोरोना’ को समस्या हो कि भनेर सुरुमा आँकलन गरिए पनि त्यस्तो नदेखिएको अस्पताल स्रोतले बतायो ।

 

२ असार २०७८, बुधवार ११:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु