महोत्तरीमा जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी

महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो ।

यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।

जेठ १ गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्मलाई पुनः थप गरेको हो । तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ ।

यसैगरी जलेश्वर अस्पताल, बर्दिबास अस्पताल र गौशालाको इमलीबजारसहित तीन ठाउँ अक्सिजन सुविधासहितको आइसोलेशन कक्ष सञ्चालनमा छन् ।

१० जेठ २०७८, सोमवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु