वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह
सिस्टम नै कोल्याप्स भयो भन्ने, समस्या छन् पो भन्नु पर्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर–सरकारी संस्था, गैर–आवासीय प्रतिनिधिलगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढङ्गले होइन ।’
सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो ।
शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स भयो हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने समस्या छन् पो भन्नु पर्यो ।’
प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स (ध्वस्त) भयो भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।
महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
२ जेठ २०७८, आइतवार १४:५५ बजे प्रकाशित





