साहित्यकार कार्कीको कोरोना संक्रमणबाट निधन

कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार निधन भएको छ।

अस्वस्थ भएपछि उनलाई गत आइतबार छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान निधन भएको उनका छोरालाई उद्धृत गर्दै चलचित्र पत्रकार विकास रौनियारले बताए।

उनी १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आएका थिए। ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो ।

उपन्यासकार एवं चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका छन्। उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन् ।

उनले ५० भन्दा बढी फिल्ममा काम गरेका छन्। कथा तथा पटकथा लेखनसँगै निर्देशनमा पनि उनको भूमिका रहेको थियो ।

ज्येष्ठ नागरिक कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो ।

चलचित्र लेखन तथा निर्देशन समेत रहेका कार्कीको जन्म विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो ।

थुप्रै गीत समेत लेखेका कार्कीको ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ (उपन्यास), ‘बसिबियाँलो’ (कथासंग्रह), ‘माया पिरतीको कथा’लगायत थुप्रै कृति प्रकाशित छन् ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका फिल्मको निर्देशन गरेका छन् ।

२ जेठ २०७८, आइतवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु