दुबै डोज खोप लगाइसकेकाहरूमा पनि पुनः कोरोना संक्रमण, भ्याक्सिनको प्रभावकारितामाथि आशंका ?
१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ ।
विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ ।
मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो संख्या एकदमै न्यून रहेको छ । तर, यसबाट भ्याक्सिनको प्रभावकारिताका सम्बन्धमा जनमानसमा आशंका भने बढेको छ ।
तर आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकहरू बताउँछन् । यस खालको ‘ब्रेक थ्रु’ एकदमै कम देखिएको छ भने देखिए पनि संक्रमण भएकामा एकदमै कम लक्षण वा बिरामीलाई धेरै असहज नहुने गरेको छ ।
अघिल्लो साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले ‘ब्रेक थ्रु’ इन्फेक्सन एकदमै विरलै भएको र भ्याक्सिन लगाएकामध्ये ०.०५ प्रतिशत भन्दा कममा देखिएको उल्लेख गरेको थियो । केही प्रतिशतमा यो देखिनु सामान्य हो किनभने कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन ।
अमेरिकाको सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार भ्याक्सिन (खोप) लगाएका व्यक्तिहरू कम बिरामी हुने सम्भावना छ ।
परीक्षणकै क्रममा विभिन्न खालका भ्याक्सिनहरू ६० प्रतिशतदेखि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएका थिए । नेपालमा पनि खोप लगाएकामा पुन संक्रमण देखिएको छ तर स्वास्थ्य मन्त्रालयसँग यसको आधिकारिक तथ्यांक छैन ।
१९ वैशाख २०७८, आइतवार १७:५६ बजे प्रकाशित





