काठमाडौं छिर्ने नाका टाइट गर्ने विषयमा सीसीएमसीमा छलफल

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा काठमाडौं छिर्ने नाका टाइट गर्ने विषयमा अनौपचारिक छलफल भएको छ । अनौपचारिक छलफललाई औैपचारिकता दिन शुक्रबार सीसीएमसीको बैठक बस्ने तयारी रहको जनाइएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस कोभिड–१९ को महामारी थप भयाभह भएर जान सक्ने चेतावनी दिएको छ ।

उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै उपसमिति संयोजक जीवनराम श्रेष्ठले यस्तो बताएका हुन् ।

संयोजक श्रेष्ठले भने, ‘उपत्यका हटस्पट भएर देखा पर्यो । यसलाइ नियन्त्रण गर्न अब उपत्यकाको संक्रमित बाहिर नजाउन भन्नेमा ध्यान दिनुपर्यो । उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयाभह हुने अवस्था रहेका कारण दशैं–तिहारको बीचमा उपत्यकाको बोर्डरलाई सिल गर्नुपर्छ । भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ ।’

गत भदौ ९ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले उपत्यका र उपत्यका बाहिरका बिभिन्न जिल्लामा पुगेर कोराना भाइरस फैलिन नदिन सरकारले गरिरहेको कामकारबाहीका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेको छ ।

संयोजक श्रेष्ठका अनुसार सरकारलाई बिभिन्न सुझावहरु उपसमितिले दिएको छ ।

जसमा तीन तहको सरकारको समन्वय र एकरुपता कायम गर्नुपर्ने, प्रचलित कानुनले कोरोनासँग लड्न अप्ठ्यारो र अपुग भएका कारण नयाँ ऐन बनाएर जानुपर्ने लगायत रहेको जनाइएको छ ।

‘प्रचलित कानुनले काम गर्न अप्ठ्यारो र अपुग भएको पाइएको छ । अब संघीय ढाचाँको कानुन बनाएर जानुपर्ने देखियो’ बैठकमा श्रेष्ठले भने ।

संघीय सरकारले लक्षण नदखिएको पिसिआर टेष्ट नगर्ने भनेपछि प्रदेश र स्थानीय तहका बीचमा थप असमझदारी देखा परेको पनि उनले बताए ।

‘स्थानीय तहले स्वाब संकलन गरेर पठाउने प्रदेशले प्रोटोकल बाहिर भयो भनेर टेष्ट नगरिदिने समस्या रहेको पाइयो’ श्रेष्ठले भने ।

३० असोज २०७७, शुक्रवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु