फेरि निशेधाज्ञा गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

निषेधाज्ञा हटाएकै कारण कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्न सुझाव दिएको थियो ।

तर, यसबारे कुनै निर्णय नभएको भन्दै स्वास्थ्य मन्त्रालले पुनः फेरि निशेधाज्ञा प्रस्ताव गरेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको जनाइएको छ । तर, कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए ।

अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् ।

बुधबार र बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनलाइन प्रेस बिफ्रिङमा ‘कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’ भनेका छन् । उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको हो ।

काठमाडौं उपत्यकाभरी यतिबेला दैनिक साढे २ हजार कोरोना संक्रमित फेला पर्न थालेका छन् । तर सरकारले अस्पतालमा ३ हजार बेड संक्रमितका लागि छुट्याएको छ भने संस्थागत आइसोलेशनमा नाममा विभिन्न सामाजिक संस्था तथा अन्य संस्थाले तयार परेको २ हजार आइसोलेशन बेड संख्या छ ।

गत भदौंमा सरकारले गृह मन्त्रालयलाई ५ हजार बेड क्षमताको क्वारेन्टाइन र स्वास्थ्य मन्त्रालयलाई ५ हजार बेड क्षमताको आइसोलेशन सेन्टर तयार पार्ने जिम्मेवारी दिए पनि दुबै मन्त्रालयले पर्याप्त रुपमा तयार पार्न सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमकाअनुसार उपत्यकाका अस्पतालमा ३ हजार र संस्थागत रुपमा २ हजार बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । उपत्यकामा बढिरहेको संक्रमणको संख्याअनुसार आइसोलेसन बेडको कमी हुनुका साथै अभाव बढिरहेको छ ।

२२ असोज २०७७, बिहीवार २०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु