सबै नागरिकलाई छिट्टै कोरोनाविरुद्धको खोप निशुल्क दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचारपछि आफ्नो नियमित काममा फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश जारी गरेका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो र स्वस्थ महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भनेका छन ।

छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणविरुद्धको निशुल्क औषधि पाउनेमा आफू विश्वस्त रहेको समेत ट्रम्पले बताएका छन ।

सबै अमेरिकी नागरिकहरु कोरोना संक्रमणको उपचारको पहुँचमा पुगेको हेर्न चाहेको राष्ट्रपति ट्रम्पले आफ्नो सन्देशमा भनेका छन ।

रेजेनरन फर्मास्यूटिकलले बनाएर परीक्षणकै क्रममा भए पनि आफुलाई दिइएको खोप अब सम्पूर्ण अमेरिकी नागरिकलाई निःशुल्क वितरण गरिने ट्रम्पले भनेका छन ।

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा बजारमा उपलब्ध नभएको तर छिट्टै त्यसले अनुमति पाउने उनले बताए ।

यसअतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका अन्य खोपहरु पनि छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।

उनको उपचारमा संलग्न चिकित्सक डा।सिन काँनका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो आएको छैन । उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको हो ।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा निको नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए ।

२२ असोज २०७७, बिहीवार ०८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु