एकाबिहानै वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु, थपिए बीस संक्रमित

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् ।

जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

वीरगंजमा पछिल्लो समय थपिने कोरोना संक्रमितको सख्या घट्दै गएको छ। ३५ दिनदेखिको निषेधाज्ञा र कन्ट्याक्ट् ट्रेसिङ् एवम परीक्षण कम हुँदा संक्रमित थपिने संख्या पनि कम हुँदै गएको हो।

भदौ १६ गते नारायणी अस्पताल पीसीआर प्रयोगशालाले अबेर राति सार्वजनिक गरेको नतिजा अनुसार ४ सय १४ नमुना परीक्षणमा ३ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भयो। नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जनाएअनुसार पर्साका १८ जना र बाराका २ जनामा पोजेटिभ देखिएको हो। ४ सय १० पीसीआरबाट ३ महिलासहित १८ जना नया संक्रमित भेटिएका हुन् भने ४ जिन एक्सपर्ट परीक्षण।

१६ भदौ २०७७, मंगलवार ०८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु