कोरोना महामारी : भारत बन्यो सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा तेस्रो

कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ।

शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो। भारतमा ६२ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ।

भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र छन्। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।

२४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २३ हजार ७ सय ७५ पुगेको छ। यसैगरी, कर्नाटकमा १ सय ३६, तमिलनाडुमा १ सय २, आन्ध्र प्रदेशमा ८१, उत्तर प्रदेशमा ७७ र पश्चिम बंगालमा ५६ जनाको मृत्यु भएको छ। हाल भारतमा ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ।

भारतमा शुक्रबार पनि ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। त्यहाँ अब संक्रमितको ३४ लाख ६१ हजारभन्दा बढी पुगेको छ।

१३ भदौ २०७७, शनिवार ०८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु