व्यवहारिक रुपमा ननकोभिड अस्पतालमा कोभिडका बिरामीको उपचार गराउनु राम्रो हुँदैन :डा। शेरबहादुर पुन

कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ बनेको छ । सरकारले संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

कस्ता अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने र कस्ता अस्पतालमा अन्य रोगका बिरामीको उपचार गर्ने भन्ने स्पष्ट मापदण्ड छैन ।

आवश्यक परेमा सबैजसो अस्पतालमा कोभिड–१९ का संक्रमितलाई राख्ने गरी सरकारले तयारी गरेको छ ।

सरकारले आवश्यकताअनुसार जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्र उपचारमा लगाउन सक्नेगरी तयारी गरेको छ ।

हालै मन्त्रिपरिषद बैठकले निजी, सहकारी, सरकारी तथा सामुदायिक गरी जुनसुकै प्रकारका अस्पताललाई कोरोना डेडिकेटेड बनाउने निर्णय गरेको हो ।

विज्ञहरु भने यसरी हरेक अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने व्यवस्था गर्नुभन्दा पनि ठूला क्षमताका केही अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र केही अस्पताललाई ननकोभिड अस्पतालका रुपमा नियमित स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित गर्नु उपयुक्त हुने बताउँछन् ।

विज्ञहरु भने यसरी हरेक अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने व्यवस्था गर्नुभन्दा पनि ठूला क्षमताका केही अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र केही अस्पताललाई ननकोभिड अस्पतालका रुपमा नियमित स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित गर्नु उपयुक्त हुने बताउँछन् ।

तर आवश्यकता अनुसार सरकारले जुनसुकै अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्न सक्ने निर्णयले अन्यौल खडा गरेको छ ।

यसले गर्दा सरकारले आफ्नो ध्यान सम्पूर्ण रुपमा कोरोनामा केन्द्रीत गरेको र दीर्घकालीन रुपमा जनस्वास्थ्यको हिसाबले कोरोनाभन्दा पनि जटील र खतरनाक अन्य रोगका उपचारहरुलाई चाहिँ गौण रुपमा लिएको देखिन्छ ।

यसले गर्दा कोरोना पीडित नभएका तर अन्य दीर्घरोगले सताएका बिरामीहरु मर्कामा पर्ने देखिन्छ ।

खासगरी मिर्गौला, मुटु रोग, क्यान्सर, हाडजोर्नी, नसा लगायत दीर्घरोगका बिरामीको उपचारका लागि कोरोना महामारीको समयमा समस्या हुँदै आएको छ ।

सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमणबाहेकका बिरामीहरुको स्वास्थ्योपचार प्राथमिकतामा नपर्ने पो हो कि भन्ने आशंका बढाएको हो ।

त्यसैपनि अहिले कोरानाको नाममा अन्य घातक दीर्घरोगीहरुको उपचार सेवा दुरुह बन्दै गइरहेको छ ।

सत्य कुरा बोल्दा सरकारी कोपभोजनको शिकार बन्नुपर्ने खतराका कारण नाम उल्लेख गर्न नचाहने शर्तमा एक विज्ञले उल्लेख गरेअनुसार, अहिले कोरोनाको नाममा मृतक दरिएका धेरैजसोको मृत्युको वास्तविक कारण कोरोना नभई उसको दीर्घरोगको बेलैमा समुचित उपचार पाउन नसकेर पो भएको हो कि भन्ने कुरा पनि एउटा ठूलै अनुसन्धानको विषय बन्न सक्छ ।

अर्कोतिर सबैजसो अस्पतालमा कोरोना संक्रमितका लागि आइसोलेसन बेडको व्यवस्था गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मी समूहगत रुपमै संक्रमित हुन थालेको देखिन्छ ।

यसले गर्दा आगामी दिनमा स्वास्थ्य सेवा नै धर्मराउने अवस्था आउने त होइन भन्ने चिन्ता व्याप्त छ ।

‘कोभिड र ननकोभिड अस्पताल छुट्याउन जरुरी’

नेपालमा कोरोना संक्रमितको तुलनामा दीर्घरोगी बढी छन्, अन्य रोगीलाई पनि बचाउन उत्तिकै जरुरी हुन्छ । त्यसैले पनि कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न हुँदैन स् डा समीरमणि दीक्षित

जनस्वास्थ्यविद् डा समीरमणि दीक्षित सबै अस्पतालमा कोरोनाका रोगी पठाइदिँदा अन्य रोगीमा पनि कोरोना सर्न सक्ने सम्भावना बढ्ने बताउँछन् ।

‘नेपालमा कोरोना संक्रमितको तुलनामा दीर्घरोगी बढी छन्, अन्य रोगीलाई पनि बचाउन उत्तिकै जरुरी हुन्छ,’ उनले भने, ‘त्यसैले पनि कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न हुँदैन ।’

दुर्गम क्षेत्रतिर कोभिड–१९ का संक्रमितलाई राख्ने छुट्टै अस्पताल तोक्न सम्भव नहुने र चीनमा जस्तो रातारात कोभिड विशेष अस्पताल निर्माण गर्न पनि सम्भव नहुने भएकाले त्यस्तो अवस्थामा अस्पतालकै छुट्टै भवनलाई कोभिड संक्रमितका लागि आइसोलेसन कक्ष बनाउन सकिने उनले बताए ।

निजी, सामुदायिक र सरकारी अस्पतालले कोभिड उपचारको लागि छुट्टै भवन व्यवस्थापन गर्न नसकेको खण्डमा कोभिडका बिरामी राख्न र उपचार गर्नका लागि एउटा तला छुट्याउनुपर्ने उनको भनाइ छ ।

‘यतिमात्र होइन, आउजाउका लागि पेटी, भर्‍याङ समेत छुट्याउनुपर्छ,’ उनले भने, ‘उपचार गर्ने स्वास्थ्यकर्मी, सरसफाई गर्ने कर्मचारी पनि छुट्टै राख्नुपर्छ ।

यदि यो गर्न पनि सकिएन भने सरकारले कुनै अस्पताललाई अस्थायी रुपमा कोभिडको बिरामी मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्छ ।’

कोभिड र ननकोभिडका बिरामी एउटै अस्तालमा उपचार गराउँदा दीर्घरोगीको ज्यान खतरामा पर्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन पनि कोभिड–१९ का संक्रमितलाई राख्न छुट्टै अस्पताल तोक्नु उपयुक्त हुने बताउँछन् ।

सम्भव भएसम्म एउटै अस्पतालमा कोभिड–१९ का बिरामी र अन्य रोगका बिरामी राख्नु उचित नहुने उनको भनाइ छ ।

उदाहरण दिँदै उनले भने, ‘सरकारले टेकु अस्पताललाई कोभिड अस्पताल बनायो, टेकु अस्पताल छिर्नेबित्तिकै सावधानी अपनाउनुपर्छ है भनेर मनमा आइहाल्ने रहेछ ।

कोभिड अस्पताल भनेर घोषणा गरेपछि त्यहाँ आफूले सजगता अपनाउनुपर्छ भन्ने कुरा मनमा आफै आइहाल्छ ।’

कोभिड अस्पताल भनेपछि त्यहाँ जाँच गराउन आउने मान्छेसँग कोभिड हुन सक्छ है भनेर हरेक पटक हात सफा गर्ने, सुरक्षा कवच तथा पोशाक पनि लगाइराख्ने र एक अर्कासँग कुराकानी गर्दा भौतिक दूरी कायम गरेर, मास्क लगाएर नै कुरा गरिने उनको भनाइ छ । ‘

यो अस्पताल कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल हो त्यसैले हामीले भुलेर पनि सानो गल्तीसमेत गर्नु हुँदैन भन्ने मनमा आभाष भइरहँदो रहेछ,’ उनले भने ।

कोभिडका बिरामीलाई ननकोभिड कोभिड अस्पतालमा उपचार गराउनभन्दा छुट्टै गराउँदा राम्रो हुन्छ : डा। शेरबहादुर पुन भन्छन ।

ननकोभिड अस्पतालमा पनि कोरोना संक्रमणको जोखिम भने कायम रहने उनी बताउँछन् ।

त्यस्ता अस्पतालमा फोक्सो, मुटु, मिर्गौला, विभिन्न किसिमका दीर्घरोगी उपचार गराउन आउने र हरेक बिरामीलाई अस्पतालमा प्रवेश गर्ने बेलामा कोरोना छ कि छैन भनेर जाँच गर्न सम्भव पनि नहुने भएकाले कोरोना संक्रमित मानिस पनि अरु रोगको उपचारका लागि अस्पताल आउन सक्ने उनको भनाइ छ ।

अन्य रोग लागेर उपचार गराउन आएकालाई कोरोना संक्रमण पुष्टि भएको घटना प्रशस्त रहेको उनले बताए ।

डा। पुनका अनुसार ननकोभिड अस्पतालमा कार्यरत कतिपय स्वास्थ्यकर्मीलाई सुरक्षात्मक कवच कसरी लगाउने र खोल्ने भन्ने बारेमै राम्रोसँग थाहा नहुन पनि सक्छ ।

यो अवस्थामा काम गर्न डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी, कर्मचारी मानसिक रुपमा कति तयार छन् भन्ने प्रश्न उठ्ने उनको भनाइ छ ।

‘कोभिड अस्पतालमा त कोभिड कै परीक्षण तथा उपचारमा आउँछन् भन्ने हुन्छ,’ उनले भने, ‘यहाँ आउने हरेक मानिस कोभिड कै बिरामी हुन् भन्ने मनमा राखेर काम गरिन्छ । तर ननकोभिड अस्पतालमा यस्तो हुँदैन ।’

कोभिड अस्पताल भनेर तोकिएका ठाउँमा प्रायः चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमण नहुने उनको भनाइ छ ।

‘आजको मितिसम्म टेकु अस्पतालमा स्वास्थ्यकर्मीलाई संक्रमण भएको छैन,’ उनले भने, पाटन अस्पतालमा छुट्टै कोभिडको विभाग छ, त्यहाँ अहिलेसम्म स्वास्थ्यकर्मीमा संक्रमण भएको सुनिएको छैन । अनि एफिएफ अस्पतालमा समस्या सुनिएको छैन । ननकोभिड अस्पतालमा कोरोना फैलिएको छ ।’

व्यवहारिक रुपमा ननकोभिड अस्पतालमा कोभिडका बिरामीको उपचार गराउनु राम्रो नहुने डा। पुनको भनाइ छ ।

‘कोभिडका बिरामीलाई ननकोभिड कोभिड अस्पतालमा उपचार गराउनभन्दा छुट्टै गराउँदा राम्रो हुन्छ,’ उनले भने, ‘चाइना, अमेरिका, बेलायत लगायतका स्थानमा कोभिडका बिरामीलाई उपचार गर्न लागि छुट्टै अस्पताल बनाइएको थियो ।

यहाँ कोभिडका बिरामीलाई उपचार गर्नका लागि छुट्टै भवन तथा अस्पतालहरूको व्यवस्था गर्न सुरु गरे सहयोगी हात अगाडि बढ्न सक्छन् ।’

ननकोभिड अस्पतालमा उपचाररत दीर्घरोगीमा कोरोना संक्रमण भएमा ठूलो समस्या पर्न सक्ने उनले बताए । ‘चिकित्सक नर्सको मात्रै कुरा होइन, अस्पतालमा काम गर्ने अन्य कर्मचारी, सफाइकर्मी, प्रशासनिक काम गर्ने लगायत हरेक क्षेत्रमा डबल कर्मचारी राख्ने सम्भावना हुँदैन।

उनले भने, ‘भुइँ पुछ्ने, लुगा धुने कर्मचारीमात्र पनि ननकोभिड अस्पतालमा कोभिड उपचार कक्ष अन्य रोगका बिरामी उपचार गर्ने कक्षमा यताउता गर्दै सावधानी अपनाएनन् भने ठूलो समस्या हुन्छ ।’

कोभिड–१९ को उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सरकारले भत्ता तथा सुविधा उपलब्ध गराउने घोषणा गरे पनि त्यस्तो सुविधा तथा भत्ता नपाएको चिकित्सक एवं स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले घोषणा गरेको सुविधा तथा भत्ता पाउने त परै जावस्, आफ्नै घरमा, डेरामा बस्नसमेत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समस्या हुन थालेको छ ।

कतिपय ठाउँमा चिकित्सक एवं नर्समा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखा परेको छ ।

कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन् ।

कतिपय ठाउँमा चिकित्सक एवं नर्समा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखा परेको छ ।

कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन् । यसतर्फ पनि सरकारले खासै ध्यान दिन सकेको छैन ।

७ भदौ २०७७, आइतवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु