राष्ट्रपतिबाट संसद अधिवेशन २३ गतेका लागि आह्वान
प्रतिनिधिसभाको अधिवेशन २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गर्दै सोमबार बैठक आह्वान गरेकी हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विघटन गरिएको संसद सर्वोच्च अदालतको फैसलासँगै पुनर्स्थापित भएको छ । सोही अनुरुप फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुरुप नै १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको अबको बैठक विशेष रहने अपेक्षा गरिएको छ ।
विभाजित नेकपाका नेताहरुले प्रधानमन्त्रीमाथि अविस्वासको प्रस्ताव दर्ता गर्नसक्ने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले भने आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।
१७ फागुन २०७७, सोमवार १४:३८ बजे प्रकाशित





