कोरोना खोप लगाउन आज स्वास्थ्यकर्मीलाई तालिम दिइँदै

बुधबारबाट देशभर हुने कोरोना भाइरस विरुद्धको खोप अभियानका लागि आज देशभरका ६०० बढी स्वास्थ्यकर्मीलाई तालिम दिइँदै छ ।

कोभिडविरुद्धको खोप र यसका लागि अपनाउनुपर्ने सवाधानी, खोप खेर जान नदिन के गर्ने भन्नेबारे स्वास्थ्यकर्मीहरूलाई खोपसम्बन्धी तालिम दिन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

उपत्यकामा काठमाडौं भक्तपुर र ललितपुरका गरी २०० जना स्वास्थ्यकर्मीले भौतिक रुपमै उपस्थित भएर तालिम लिनेछन् ।

बाँकी ७४ जिल्लाका ४०० बढी स्वास्थ्यकर्मीहरूलाई भर्चुअल विधिबाट तालिम दिइने बताइएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित वेगन भिल्ला, ललितपुरको पाटन अस्पताल र भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा तालिम सञ्‍चालन भइरहेको छ ।

खोप तालिममा जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, खोप फोकल पर्सन, कोलचेन अधिकृतहरु र जिल्ला अस्पताल प्रमुख सहभागी छन् ।

यस्तै, सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरु पनि त्यसमा सहभागी छन् ।

दुईपटक लगाउनुपर्ने यो खोप पहिलो डोज लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज लगाइनेछ ।

खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ।

उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ ।

बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहन चालक,महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

१२ माघ २०७७, सोमवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु