श्रमिक भन्छन्: सरकार अरुले बाँडेको खानाले कतिदिन बाँच्ने ?
पाँच दिनदेखि ८ वर्षको छोरो लिएर सन्तोष बस्नेत कान्ति अस्पताल नजिकै रोयल कोल्याब्रेटिभ नामक संस्थाले चलाएको निःशुल्क खाना खुवाउने ठाउँमा धाइरहेका छन् ।
पेसाले उनी ज्यामी हुन् । कोभिड १९ को महामारीका कारण सरकार लगाएको निषेधाज्ञाले उनले ज्यामी काम गर्न पाएका छैनन् । त्यसैले घरमा स्टोभ बल्न सकेको छैन ।
दिनभरी ज्यालामजदुरी गरेर बिहानबेलुकी छाक टार्ने सन्तोष पहिलाको लकडाउन र अहिलेको निषेधाज्ञले असन्तोष बन्न पुगेका छन् । कोरोनाको कत्ति डर छैन उनलाई जति भोकको छ । काम नभएर मन बेचैन त छ नै उनको अर्कोतिर श्रीमतीको खुट्टा भाँचिएर तनाव थपिएको छ ।
बिहान खायो बेलुका छैन, बेलुका खायो बिहान छैन, उनी दुःख सुनाउँछन्, हाम्रो पीडा सुन्ने र बुझिदिने कसले रु यसरी अरुले बाँडेको खानाले कतिसमय बाँच्ने
बस्नेत मात्रै होइनन्, निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु मारमा परेका छन् यतिबेला । एकातिर उनीहरूको कमाउने बाटो त गुमेको छ नै, अर्कातिर भोको पेट कसरी भर्ने भन्ने चिन्ता उत्तिकै छ । त्यो पनि आफ्नु मात्रै होइन, पूरै परिवारको ।
यस्तै मारमा परेका मजदुरहरुलाई रोयल कोल्याब्रेटिभ नामक संस्थाले विगत ८ दिनदेखि काठमाडौंका विभिन्न स्थानमा खाना खुवाइरहेको छ ।
सोमबार बिहानै कान्ति अस्पताल क्षेत्र सानो नजिकैको कोठामा केही युवाहरु ठूलो भाँडामा खान्की तयार गर्दै थिए । कोही भात पकाउन त, कोही तरकारी काट्न व्यस्त ।त्यतिकैमा केही मजदुरहरु सटर बाहिर आएर भेला भए । भित्रबाट एकछिन् नजिकै बस्नुस् भन्ने आवाज सुनेपछि उनीहरु छेउकै खाली ठाउँमा खाना कुरेर बसे ।
विगत ८ दिनदेखि गजेन्द्र शाही शाही र संस्थामा आवद्ध युवाहरुको दिनचर्या यस्तै छ । बिहान खाना तयार गर्छन् र १० बजे काठमाडौंका विभिन्न स्थानमा गरिब र दुखीलाई निःशुल्क खाना खुवाउँछन् ।
यो भन्दा अघिको समयमा धनगढीको नेपाल(भारत नाकामा अलपत्र परेका नेपालीहरुलाई ५७ हजार प्लेट खाना खुवाइएको बताउँछन् उनी। साथी भाइहरूसँग संकलन गरेर उठेको रकम गरिब र भोकाका लागि खर्च गरिएको शाहीको भनाइ छ ।
यसरी नै मारमा परेका मजदुरहरुलाई सहयोग गर्नेको संख्या बढ्दो छ । राजधानीको खुलामञ्चमा पनि भोका मजदुरहरूको लाम लाग्ने गर्दछ आजभोलि । लामबद्ध उनीहरु खानाको पर्खाइमा हुन्छन् ।
अहिलेको सरकार र विगतका सरकारले विभिन्न मजदुर संगठन खडागरी मजदुरका नारा सुन्ने भनिएतापनि मजदुरहरूको व्यथा उस्तै छ। भोका पेटका लागि उठेका यस्ता युवाका सहयोगी हातहरुले भएपनि उनीहरुमा झिनो आशा पलाएको छ।
२३ भदौ २०७७, मंगलवार १८:२० बजे प्रकाशित













