आधुनिक ‘महाभारत’मा अभिनेत्री रिया ‘द्रौपदी’को भूमिकामा

बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन् । हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन् ।
यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको छ । पौराणिक कथा ‘महाभारत’लाई आधुनिक रुपान्तरण गर्दै निर्माण हुन लागेको फिल्म ‘महाभारत’मा निर्माताले उनलाई द्रौपदीको चरित्रका लागि प्रस्ताव गरेका छन् ।
रियाले पनि यो चरित्रका लागि निकै चासो देखाएकी छन् । निर्माताहरु अहिले अभिनेत्रीसँग कुराकानी चरणमा छन् ।
‘यो महाभारत र द्रौपदीको भूमिकालाई लिएर बनाइएको ठूलो परियोजना हो । अहिलेको आधुनिक परिवेशमा यो महाभारत बन्नेछ । द्रौपदी भूमिकाका लागि रिया चक्रवर्तीसँग कुराकानी भइरहेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।
रियाले यो फिल्मका लागि ग्रीन सिग्नल दिइन् भने बलिउडमा कमव्याक गर्न उनलाई सहज हुने फिल्म पण्डितहरुको बुझाई छ ।
उनको अभिनय रहेको चलचित्र ‘चेहेरे’ रिलिजको प्रतीक्षामा छ । यस चलचित्रमा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अन्नु कपुर, रघुवीर यादवलगायतको भूमिका रहेको छ । फिल्ममा उनको भूमिका सानो भएपनि महत्वपूर्ण छ ।
अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछिको लागुऔषध मुद्दाका कारण अभिनेत्री रिया चक्रवर्ती गत वर्षदेखि चर्चामा छिन् । सोही कारण उनी पछिल्लो समय चलचित्रको पर्दाबाट टाढिएकी थिइन् ।
यस भूमिकामा लागि अभिनेत्रीसँग प्रारम्भिक कुराकानी मात्रै भएको र यस विषयमा उनले सोचिरहेको जनाइएको छ ।
२७ जेठ २०७८, बिहीवार १२:४४ बजे प्रकाशित