कमेडी च्याम्पियन सिजन -२  फागुन  २१ बाट प्रशारण हुने

कमेडी च्याम्पियन सिजन २ को औपचारिक घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुनेछ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यस सिजन गत सिजनभन्दा भव्य हुने दावी गर्छन् ।

गत वर्ष आर्थिक रूपले पनि केही समस्या झेल्नु परेकाले धेरै कुराहरू गर्न नसकिएको भण्डारीको भनाइ छ ।

गत वर्ष हामीलाई आर्थिक रूपमा पनि धेरै समस्या पर्‍यो । जसको कारण कतिपय सपना पूरा हुन सकेनन् ।

यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन । अब ढुक्कसँग कन्टेन्टमा काम गर्न पाउनेछौँ, उनले भने, गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौँ ।

यस वर्ष प्रतियोगीलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन् । उनले थपे, गत वर्षका प्रतियोगीलाई भन्दा यस वर्षका प्रतियोगीलाई हामीले धेरै मिहिनेत गराइरहेका छौँ । यसको एउटै उद्देश्य भनेको शोलाई राम्रो बनाउने हो ।

कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन् ।

कमेडी च्याम्पियन अर्गानिक शोको रूपमा स्थापित भएको छ । यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौं दिनेशले भने, ५ वर्ष मात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।

कार्यक्रममा विज्ञापन कम्पनी एडी रिलिजुले विभिन्न आयोजक तथा प्रयोजकसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो ।

कमेडी च्याम्पियन- २ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो ।

६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् ।

कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रूपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन् ।

थ्रि प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।

१२ फागुन २०७७, बुधवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु