कक्षा १२ को परीक्षा सम्बन्धमा असार १५ पछि मात्रै निर्णय गर्ने

२६ जेठ, काठमाडौं । विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने बताएका छन् ।

बुधबार सदस्यसचिव अर्यालले कक्षा १२ को परीक्षाको मोडालिटीका सम्बन्धमा छलफल भइरहेको र यसबारे असार १५ गतेपछाडि मात्रै निर्णय हुने बताए ।

उनले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ ।

यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

कक्षा १२ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने सम्भावनालाई फरक रूपले हेर्नुपर्ने उनले बताए ।

अर्यालले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम कक्षा र परीक्षा हो । कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ ।

त्यसकारण आन्तरिक मूल्याङ्कनबटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । यद्यपि हामी यतिबेला परीक्षाको मोडालिटीको सम्बन्धमा छलफल गरिरहेका छौँ ।’

तर फेरि पनि सङ्क्रमण दर बढेको र लकडाउन लम्बिएको अवस्थामा के होला त भन्ने प्रश्नमा उनले गत वर्ष मङ्सिरमा परीक्षा गरेको बताए । तर यसपटक मङ्सिरसम्म कुर्नु नपर्ने भन्दै आफूहरू सकेसम्म भौतिक रूपमै विद्यार्थीले लेखेर परीक्षा दिने व्यवस्था गराउन लागिपरेको बताए । त्यो अवस्था नआएमा पनि विद्यार्थीले कुनै न कुनै विधिबाट परीक्षा दिएरै नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेको सदस्यसचिव अर्यालले बताए ।

२६ जेठ २०७८, बुधवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु