शिक्षण पेशाप्रति अरुचिकै कारण नेपालको शिक्षा खस्किएको शिक्षामन्त्री श्रेष्ठको भनाई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षण पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान-प्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए ।

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रुपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताए ।

उनले शिक्षक पेशामा आउनेहरू पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

उनले भने, ‘हामी राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यबार चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गासिँएको छ त्यस बारेमा हामी कति गम्भीर र चिन्तित बन्छौैं ? ’

सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ पनि सचेत रहेको मन्त्री श्रेष्ठले बताए ।

१८ चैत २०७७, बुधवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु