होली पर्वमा पोखरामा बढे पर्यटक

नेपालका विभिन्न ठाँउबाट पोखरा क्षेत्रमा करिब एक वर्षकै सबै भन्दा धेरै पर्यटक यस अवसरमा भित्रिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

उनले भने, “कोरोनापछि दसैं तिहारको अवसरमा करिब २०–२५ प्रतिशत आन्तरिक पर्यटक वृद्धि भएकोमा हाल होली पर्वको अवसरमा दुई दिनको बिदा परेकाले करिब २५–३० प्रतिशत आन्तरिक पर्यटक पोखरामा घुम्न आएका छन् । ”

काठमाडौं, पूर्व र पश्चिम तथा चितवनलगायतका ठाँउबाट स्कुल कलेज, सहकारी तथा विभिन्न संघ संस्थाको अध्ययन भ्रमण समेत यसै समयमा भएकोले गर्दा पनि पोखरामा आन्तरिक पर्यटक छोटो समयको लागि ह्वात्तै वृद्धि भएको अध्यक्ष भट्टराईले दाबी गरे ।

कोरोनाले गर्दा हाल पर्यटन क्षेत्र निकै प्रभावित भएको गुनासो गरेका भट्टराईले अब नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा माथि उठाउन हप्ताको दुई दिन शनिबारसहित आइतबार समेत बिदा दिनुपर्ने माग गरेका छन् ।

सरकारी कर्मचारीलाई पे होलिडेको कार्यक्रम ल्याउने, आन्तरिक पर्यटकले पनि कम्तिमा १० गन्तव्य घुम्दा केही सहुलियत तथा छुटको प्याकेज दिँदा त्यसले आन्तरिक पर्यटन प्रवद्र्धन हुने अध्यक्ष भट्टराईको भनाइ छ ।

शनिबार र आइतबार होली पर्वको अवसरमा फेवातालमा डुंगा सयर गराउन डुंगा व्यवसीहरुलाई समेत भ्याइ नभ्याई भएको थियो । वर्षकै सब भन्दा धेरै शनिबार र आइतबार पोखरामा डुंगा सयर गर्न आएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

फेवातालमा डुंगा सयर गर्ने आन्तरिक पर्यटक एवं तालवराही मन्दिरमा दर्शकन गर्न जानेहरु दर्शनार्थीहरुको निकै चाप भएको उनले बताए ।

पोखरामा करिब ३ सय जना डुंगा व्यवसायीहरु रहेका छन् भने एक सय ५० जना जसो अर्कोको मजदुरी गर्ने डुंगा चालक रहेका छन् ।

अधिकांश डुंगा स्वरोजगार चालक छन् । फेवातालमा करिब ८ सय वटा डुंगा रहेको संगठनले जनाएको छ ।

१६ चैत २०७७, सोमवार १२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु