खर्च नहुने बजेट फिर्ता गर्न थालियो

चालु आर्थिक वर्षका लागि खर्च नहुने बजेट फिर्ता हुन थालेको छ । कतिपय कार्यालयलाई अर्थ मन्त्रालय स्वयम्ले पत्र काट्दै खर्च नहुने बजेट सरेन्डर गर्न आग्रह गरेको छ ।

कतिपय कार्यालयले भने आफैं बजेट फिर्ता हुने जानकारी अर्थ मन्त्रालयलाई गराउन थालेका छन् । मन्त्रालयका सहसचिव सुमन दाहालका अनुसार चैतसम्म पनि पूर्वतयारीको काम पुरा गर्न नसकेका आयोजनाको बजेट सरेन्डर हुने गर्छ ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुंगेलले खर्च गर्न नसक्ने बजेट सरेन्डर गर्न अर्थ मन्त्रालयबाट पत्र आएको जानकारी दिए ।

मन्त्रालयका अधिकारीका अनुसार बजेट सरेन्डर आउन थालेसँगै अबको केही समय थप निकासाको चाप भने बढ्छ । एकातर्फ बजेट खर्च गर्नुपर्ने बाध्यता र अर्कोतर्फ निकायहरूले बजेट फिर्ता गर्दा आवको अन्तिममा मिलाउनुपर्ने कारणले अर्थका अधिकारीहरू चापमा हुन्छन् ।
पछिल्ला वर्षहरुमा गैरबजेटरी निकासा भने बन्द भएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अहिले पनि बजेट बाहिर गएर माग्न थुप्रै फाइल अर्थ मन्त्रालयमा पुग्छन् ।

अन्तिम चौमासमा विनियोजनको ८० प्रतिशत भन्दा बढी रकम खर्च गर्नुपर्ने भएको छ । यसको पनि ठूलो अंश असारमा ‘खर्च गर्नै पर्ने बाध्यता’का कारण खर्च हुने गरेको छ ।
तर, विनियोजनमा नपरेका आयोजना तथा कार्यक्रमले भने बजेट पाउँदैनन् । ‘बजेट विनियोजनमा परेका तर आयोजनाको प्रगति राम्रो भएको छ भने त्यसमा थप बजेट दिएर खर्च गर्ने व्यवस्था मिलाउँछौं’, उनले भने ।

 

१२ चैत २०७७, बिहीवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु