आर्थिक वृद्धिदर सम्बन्धी गलत तथ्यांकहरु प्रचार भइरहेका छन्: तथ्यांक विभाग

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६–०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यहरुको समेत तोडमोड गरिएको बताएको छ ।

विभागले आव २०७६–०७७ मा आधारभूत मूल्यमा २।२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यहीसन्दर्भ जोड्दै सो बाहेक राष्ट्रिय लेखा तथ्यांक परिमार्जन गरी कुनै पनि तथ्य प्रकाशनमा नल्याइएको विभागको भनाई छ ।

पछिल्ला दिनहरुमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्यांकको प्रचारप्रसार भइरहेको पाइएकाले त्यस्तो गलत हल्लाको पछाडि नलाग्न पनि विभागले आग्रह गरेको छ ।

अन्तराष्ट्रिय तथा राष्ट्रियतहमा देखिएको कोरोना महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असर अनुमान गरिएको छ । सोही अनुसार आव २०७६–०७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्यांक गत वैशाख १७ गते प्रकाशनमा ल्याइएको पनि विभागले स्मरण गराएको छ ।

त्यस आवको तेस्रो त्रैमासको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७५–०७६ को सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

त्यसैगरी, मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७६–०७७ को दोस्रो त्रैमासको तुलनामा सोही आवको तेस्रो त्रैमासमा २.७२ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान छ ।

यी बाहेक विभागले कुनै पनि वार्षिक राष्ट्रिय लेखा तथ्यांक परिमार्जन गरी प्रकाशनमा नल्याएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२२ भदौ २०७७, सोमवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु