मन्त्री ज्ञवालीले दिएको पीसीआर मेसिन नक्कली, काठमाडौं फिर्ता

हेलिकोप्टरमा लगिएको बिग्रिएको मेसिन गत साउन ३ गते भव्य कार्यक्रम गरेर हस्तान्तरण गरिएको थियो ।

परराष्ट्र मन्त्री तथा गुल्मीका सांसद प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पीसीआर मेसिन बेकामे भएर काठमाडौं फिर्ता गरिएको छ ।

मन्त्री ज्ञवालीले कामै नलाग्ने मेसिन ल्याएको र मर्मत गर्ने अनेक प्रयास गर्दा पनि नभएपछि मेसिन नै काठमाडौं फिर्ता गरिएको हो ।

झण्डै एक महिना लगाएर पनि बनाउन नसकिने अवस्थाको मेसिन गत साउन ३ गते भव्य कार्यक्रम गरेर जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणपछि प्रयोगमा आउला भनेर प्रतिक्षा गर्दा गर्दै आम नागरिक निराश भएपछि सोधिखोजी गर्दा बिग्रिएको, पाटपुर्जा नै नभएको र काम नलाग्ने मेसिन ल्याएर दिएको पुष्टि भएको हो ।

मन्त्रीले दिएको मेसिन प्रयोगमा नल्याएको भन्दै जनताले शुरुमा नगरपालिकाका मेयर डिल्लीराज भुसालप्रति आक्रोश व्यक्त गरेका थिए । तर मन्त्रीले काम नलाग्ने मेसिन दिएकाले आफुले प्रयोगमा ल्याउन नसकेको जवाफ उनले दिने गरेका थिए ।

उनले पाटपुर्जा पुरा नै नभएको मेसिन ल्याइदिएकाले आफुले गाली खानु परेको भन्दै मन्त्री ज्ञवालीसँग पनि आक्रोश पोखेका थिए ।

मन्त्री ज्ञवालीले दिएको भनिएको सो पीसीआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रकम संकलन गरिएको थियो ।

जनतालाई काम देखाउन र कामको श्रेय लिन मन्त्री ज्ञवाली स्वयम् उक्त पीसीआर मेसिन काठमाडौंदेखि हेलिकेप्टर मार्फत् सदरमुकाम तम्घास ल्याएका थिए । मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो ।

तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको थियो ।

पुरा पाटपुर्जा नै नभएको मेसिन बनाउनका लागि नगरपालिकाले शुरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र त्यसपछि काठमाडौबाट स्वास्थ्य प्राविधिकहरुको टोली ल्याएको थियो ।

ती सवै प्राविधिकहरुले पीसीआर मेसिनमा अत्यावश्यक पाटपुर्जाहरु नै नभएकाले यो मेसिन काम नलाग्ने र यहाँ बनाउन पनि नसकिने भएकाले काठमाडौ फिर्ता गर्नु भनेर सुझाव दिएका थिए ।

अपुरो मेसिनलाई गुल्मीमै मर्मत गर्ने प्रयास एक महिनासम्म पनि सफल नभएपछि केही दिन अगाडि मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले सो मेसिन काठमाडौं लगेका छन् ।

रेसुङ्गा नगरपालिका मेयर भुसालले गुल्मीमै मर्मत गर्न नसकिएकाले मेसिन काठमाडौं फिर्ता गर्नुपरेको बताए ।

उनले प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पीसीआर मेसिन फेरि गुल्मी ल्याएर संचालन गर्न अझै १५ दिन लाग्न सक्ने जानकारी दिए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पच्याले पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमाडौंबाट आएको स्वास्थ्य प्राविधिकहरुको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेकाले त्यो मेसिन काठमाडौं पठाइएको बताए ।

उनले अब त्यही मेसिन आउँछ की अर्को मेसिन आउँछ भन्ने बारेमा आफुलाई जानकारी नरहेको जवाफ दिएका छन् ।

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पनि मेसिनमा विभिन्न पाटपुर्जा जडान गर्न काठमाडौं पठाईएको पुष्टि गरेका छन् ।

मन्त्री ज्ञवालीले काम नलाग्ने मेसिन तामझामका साथ दिएको देखाएर जनताको भावना र विश्वासमाथि खेलवाड गरेको काँग्रेसको टिप्पणी छ ।

काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जनताको रकमबाट मन्त्री ज्ञवालीले नक्कली पीसीआर मेसिन किनेर जनता ठग्न खोजेको टिप्पणी गरे ।

उनले कम्युनिष्टहरु कामभन्दा प्रचार बढी गर्छन र सेवाभन्दा स्वार्थ हेर्छन् भन्ने पुष्टि भएको दावी गरे ।

मन्त्रीले नै हेलिकोप्टरमा ल्याएर अत्यधिक प्रचारप्रसारका साथ हस्तान्तरण गरिएको मेसिन काम नलाग्ने रहेको थाहा पाएपछि जिल्लावासी अहिले निराश भएका छन् भने देशैभरी चर्चाको विषय बनेको छ ।

१२ भदौ २०७७, शुक्रवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु