कोरोना कहरकै बेला चीनबाट आयो साढे १३ अर्ब लगानी प्रतिबद्धता

कोरोना भाइरस संक्रमण र लकडाउनको चपेटाबाट गुज्रिरहेकोे बेला नेपालमा चीनले ठूलो स्तरको लगानी गर्ने गरी रुचि देखाएको छ।

पछिल्लो चार महिनामा मात्र चीनबाट १३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको लगानी गर्ने प्रतिबद्धता आएको हो।

जब कि यही समयमा आठ मुलुकबाट आएको कुल लगानीको प्रतिबद्धता १५ अर्ब २० करोड रुपैयाँ मात्र छ। विदेशी लगानी स्वीकृति गर्ने निकाय उद्योग विभागको तथ्यांकअनुसार चीनबाट वैशाखदेखि साउनसम्म १३ अर्ब ५१ करोड ९० हजार रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको छ।

पछिल्लो चार महिनामा आएको लगानीमध्ये झण्डै आधा साउन महिनाको २२ दिनमा आएको छ। विभागको तथ्यांकअनुसार साउन महिना ९साउन १ देखि २२ गतेसम्म०मा मात्र ५ अर्ब ९० करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

साउन महिनामा २८ परियोजनाको लागि उक्त लगानी आएको विभागका वैदेशिक लगानी शाखाका निर्देशक उदन गुप्ताले बताए। वैशाख र जेठ महिनामा ७ अर्ब ५५ करोड २० लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने असारमा ५ करोडबराबरको लगानी आएको छ।

नेपालमा चीनको महत्वाकांक्षी योजना बीआरआईअन्तर्गत विभिन्न परियोजना सञ्चालित छन्। ती परियोजना सञ्चालन भइरहेको कारणले पनि चीनको लगानी धेरै आएको हुनसक्ने जानकारहरु बताउँछन्।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले पनि बीआरआई प्रोजेक्टअन्तर्गत धेरै परियोजना सञ्चालन भएकाले चीनको लगानी आकर्षित भइरहेको हुनसक्ने बताए। चीनबाट आएका लगानीमा जलविद्युत्, पर्यटन र सेवा क्षेत्रमा धेरै रहेको उनले बताए।

‘चीनबाट हाइड्रो, पर्यटन र सेवा क्षेत्रमा धेरै लगानी आएको छ’, भुसालले  भने, ‘नेपालमा धेरै चिनियाँ लगानीकर्ताले पयर्टन क्षेत्रमा लगानी गरेका छन्।’

 

४ भदौ २०७७, बिहीवार २०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु