हतियार र लागूऔषधको बरामतमा भारतीय नागरिक सहित ३ जना पक्राउ

३१ असार, काठमाडौं । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको बताए ।

पटेललाई विराटनगर महानगरपालिका स्थित भत्केको वालनजिकबाट पटेललाई राति १०ः२८ बजेतिर पक्राउ गरिएको ठाकुरले बताए । शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको थियो ।

सशस्त्र प्रहरीले पटेललाई आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागूऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार उनी भारतको जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए । यता लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

३१ असार २०७८, बिहीवार १४:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु