कोरोना कहरकै बेला अस्पतालकी कर्मचारीको हत्या, शव जङ्गलमा फेला

ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ ।
अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको हो ।

प्रहरीले उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा फेला पारेको छ ।

हत्या आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जङ्गलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान गरिएको छ ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ ।

केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउने प्रहरीको भनाइ छ ।

 

२० भदौ २०७७, शनिवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु