रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
बुधबार साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए ।
पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा रहेकाले घटनाको पूर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का, डिएसपी ज्ञानकुमार महतो समेतको टोली घटनास्थलतर्फ गएका छन् ।
माधवनारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको प्रहरीले जनाएको छ । घटनाको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
४ भदौ २०७७, बिहीवार ०७:०९ बजे प्रकाशित