नेपालसँग वार्ता गर्न भारत तयार
सीमा विवादलाई लिएर नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेको बेला नेपाल भारत निरीक्षण संयन्त्र ओभरसाइट मेकानिजमको आठौं बैठक बस्ने भएको छ। बैठक १ भदौमा काठमाडौंमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा नेपाल तर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी गर्नेछन् भने भारत तर्फको नेतृत्व नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नेछन्। संयन्त्रले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यन्वयन अवस्थाको समीक्षा गर्नेछ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्शा जारी भएपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन। यसैबीच नेपाल–भारत निरिक्षण संयन्त्रको आठौं बस्न लागेको हो।
संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो।
संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो।
२९ साउन २०७७, बिहीवार १२:२६ बजे प्रकाशित





