प्रचण्ड, माधव रणनीति : ओलीलाई पार्टी फुटाउन बाध्य पार्ने कि आफै फुटाउने ?

ओलीसँग पदको नभइ प्रवृतिमा संकर्ष गरेको प्रष्टीकरण

पार्टीभित्र अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इत्तरका नेताहरुले बुधवार राजधानीमा आफु निकटका पत्रकारहरुलाई बोलाए ।

करिब ४० जना सहभागी उक्त भेलामा ओली इतरसमुहका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल, रघुजी पन्त लगायत सहभागी थिए ।

उनीहरु सबैको संवोधनको सार एउटै थियो– ओली पार्टीको निर्णय अनुसार चलेनन् । एकलौटी ढङ्गले हिँड्न खोजे । जसले पार्टीमा विवाद सिर्जना गरेको छ ।

नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण पनि दिए । पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको उनीहरुको भनाई थियोे ।

केपी ओली र प्रचण्डको बीचमा पदको लडाई हो भन्ने प्रचार भइरहेको भन्दै चारै नेताले त्यसको खण्डन गरे ।

‘पार्टीभित्रको बहसलाई जसरी पदको निम्ति छिनाझपटी हो कि भनिएको छ, त्यो होइन’ अध्यक्ष प्रचण्डले भने ।

आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मंसिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छाडेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’

के हो त विवाद ?

प्रचण्ड–ओली पक्षका शीर्ष नेताहरु नेताहरुले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको बहस विचार, नीति, विधि, पद्धतीकै भएको बताएका छन् । उनीहरुले पार्टीभित्र भइरहेको बहसलाई यसरी प्रष्ट्याउन खोजेका छन् ।

–मार्क्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ?

– पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ?

– पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ?

– विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ?

– सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ?

पार्टीमा अध्यक्ष केपी ओलीसँग यस्तै विषयमा गम्भीर अन्तरसंघर्ष चलिरहेको नेताहरुले बताए ।

अध्यक्ष प्रचण्डले अघि भने, ‘अहिलेको बहस पार्टीलाई विधि, पद्धती, विचारका आधारमा चलाउने हो कि पार्टी भनेको केही होइन, एकपटक निर्वाचित भएपछि नेता नै सबथोक हो भन्ने भन्ने बहस हो ।’

ओलीले गुट वडासम्म विस्तार गरे

शीर्ष नेताको चिन्दा ओली समुहले वडास्तरसम्म गुट विस्तार गरेको भन्ने चिन्ता बढ्ता देखिन्थ्यो ।

ओली समुहले मदन भण्डारी फाउण्डेशनको नामको संगठन स्थानीय तह र वडासम्म विस्तार गरेको, जनताको बहुदलीय जनवाद (जबज)को ब्यानरमा कार्यक्रम गरेर पार्टी फुटको संदेश दिइरहेको उनीहरुको आरोप छ ।

आवश्यक परे फाउण्डेशनकै समुहलाई पार्टी घोषणा गरेर जाने ओली समुहतको तयारी रहेको भन्दै उनी इत्तरका नेताहरुले पत्रकारहरुलाई अब ओलीलाई पार्टी फुटाउन बाध्य पार्ने कि आफैँ पार्टी फुटाएर जाने भन्नेमा रनभुल्ल्मा रहेको संदेश दिएका छन् ।

पार्टी ओलीले नै फुटाउन खोजेको र अझै पेलेर ओलीलाई पार्टी फुटाउन बाध्य पार्ने रणनीति रहेको छनक पनि नेताहरुले दिए । तर, ओलीले कसैगरी मानेनन आफुहरु अलग भएर जान सक्ने संदेश दिएका छन् नेताहरुले ।

‘मदन भण्डारी फाउण्डेशनको नाममा संगठन र जबजको ब्यानरको कार्यक्रममा स्थायी कमिटीकै नैताहरु गएर भाषण गरिरहेका छन्’ कार्यकारी अध्यक्ष प्रचण्डले भने, ‘मैले माओवादीको ब्यानर राखेर र अर्को पक्षले जबजको ब्यानरमा कार्यक्रम गर्ने, भाषण गर्न थालेपछि के हुन्छ ?’

तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र मिलेदेखि नै नेकपा भत्काउन बिभिन्न तत्वहरु लागि परेको उल्लेख गर्दै प्रचण्डले त्यस्ता समुहको प्रभावमा परेर अर्का अध्यक्ष ओली नेकपा भत्काउन लागि परेको आरोप लगाए ।

पार्टी एकतालाई प्रधानमन्त्री हुने वा पद प्राप्त गर्ने भर्याङ मात्रै बनाएर अहिले आफै उक्लेको भर्याङ फ्याक्न ओली समुह लागी परेको उनको विश्लेषण छ ।

आफ्नै गुट, आफ्नै स्वार्थ अनुरुप चल्ने र नयाँ पार्टी गठन गरेर अगाडि जाने ओलीको सोचको प्रमाणका रुपमा उनले ‘नेकपा एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन दिनु पनि रहेको उल्लेख गरे । भेलालाई सम्बोधन गर्दै प्रचण्डले ‘अब पार्टी फुट्न सक्छ’भन्ने शब्द प्रयोग नगरी यहि संदेश दिए ।

‘मंसिर ४ गतेको सम्झौता र बैशाख २० गतेको सम्झौता ओलीलाई सच्याउनका लागि हो तर, सच्चिएनन् । त्यसकारण अब खराब भन्दा खराब निर्णय लिनुपर्ने पनि हुन सक्छ । हामी मानसिक रुपले जस्तोसुकै परिणामका लागि तयार हुनुपर्छ’ प्रचण्डले भने ।

पार्टी एकताको हुँदाका बखत भएको अढाइ–अढाई वर्ष आलोपालो प्रधानमन्त्री हुने सम्झौता छोडेर ओलीले ५ वर्ष नै सरकार चलाउने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले लिने भन्ने सहमति मंसिर ४ गते भएको थियो ।

यो कार्यान्वयन नभएको भन्दै चर्किएको अन्तरसंघर्षमा ओलीले आत्मआलोचना गर्ने र आइन्दा पार्टीको निर्णय अनुसार चल्ने भनेर प्रतिवद्धता व्यक्त गरेपछि सोही अनुसारको सहमति बैशाख २० गते भएको थियो ।

यी दुबै सम्झौता विपरित सरकार एकलौटी ढङ्गले हिडेको भन्दै नेकपाका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालले पनि अब पार्टी एक रहन नसक्ने संदेश नेकपा निकट पत्रकारहरुलाई दिएका छन् ।

गोप्य भनिएको छलफलमा आफ्नो भाषण सुरु गर्दै नेता खनालले प्रचण्डतर्फ हेर्दै भने, ‘यो हाम्रो प्रारम्भिक पहिलो चरणको छलफल हो, हैन अध्यक्ष कम्रेड ?’

प्रचण्डले ‘हो’ भन्दै मुन्टो हल्लाए ।

भेलाको अन्त्यतिर अध्यक्ष प्रचण्डले ‘आज प्रारम्भिक छलफल भयो । तपाईहरुका कुरा सुन्न छिट्टै अर्को बैठक राखौंला’ भनेका थिए ।

नेकपा निर्माण भएको लामो समय भइसकेको छ । यो कसरी पहिलो र प्रारम्भिक छलफल हुन्छ ? यहिनेर प्रश्न छ ।

वरिष्ठ नेता माधव नेपालले पनि बुधवारको भेलालाई प्रारम्भिक भनेका छन् ।

यसको अर्थ ओली समुह इत्तरका नेताहरुले आफुहरु अलग रुपमा सांगठनिक अभ्यासमा जान खोजेका छौं संदेश पत्रकारहरुलाई दिएको प्रष्ट बुझिन्छ ।

तर, उनीहरुले ओली अहिलेसम्म नसच्चिएको निश्कर्ष सुनाए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अब सच्चिएर जान तयार हुँदा के गर्ने भन्नेमा प्रष्ट केही भनेका छैनन् ।

कसले के भने ?

भेलामा सबैभन्दा चर्को स्वरमा आफ्ना कुरा राख्ने वा ओली समुहको विरोध गर्ने नेता हुन् माधव नेपाल ।

म नै देश हुँ, पार्टी हुँ भन्ने प्रवृति, सोच, चिन्तन अध्यक्ष ओलीमा रहेको उल्लेख गर्दै नेता नेपालले अब पनि ओलीबाटै निकास आउँछ कि भन्ने आश गर्न नसकिने अवस्थामा पुगेको बताए ।

ओलीकै कारण पार्टी एकताले पूर्णता पाउन नसकेको, पोलिटब्युरो गठन हुन नसकेको, अनुशासन कमिटी लगायतका कमिटीहरु गठन हुन नसकेको उल्लेख गर्दै नेता नेपालले ओली नेतृत्वको वर्तमान सरकारको कार्यशैलीका कारण नेकपा पार्टीलाई नोक्सान मात्रै पुगेको उल्लेख गरे ।

यसको असर अर्को चुनावमा पर्ने भन्दै नेता नेपालले बेलैमा सचेत भएर गम्भीर निर्णय लिनुपर्ने बताए ।

कम्युनिस्ट हुँ भन्नेले खतरा भन्दा खतरा निर्णय लिन लिन सक्नुपर्ने उल्लेख गर्दै उनले खतरा मोलेर अगाडि जान आँट हुनुपर्ने बताए ।

त्यो आँट पार्टी फुटाउनकै लागि प्रयोग गर्ने कि पार्टी कमिटीबाट ओलीलाई हटाउने निर्णय लिन भन्नेमा नेता नेपालको अभिव्यक्ति प्रष्ट थिएन ।

उनको भाषण प्रष्ट थियो– ‘ओली मनोगत रुपमा चले । पार्टीका कुरा सुनेनन् । पार्टी विधि र नीतिको वास्ताा गरेनन् । पार्टी कमिटी बैठक छल्न मात्रै खोजिरहेका छन् । यहि तरिकाले जाँदा अर्को चुनावमा कम्युन्टिको हार हुन्छ । त्यसकारण अब गम्भीर भएर निर्णय लिनुपर्छ ।’

पार्टीलाई मिलाउनुपर्छ भनेर मेहनत गर्दा आफुलाई ओली समुहले ‘बिचौलिया’को आरोप लगाएको, स्थायी कमिटीलाई ‘हुलहुल्लड’ केन्द्रिय समितिलाई ‘सडकछाप’ भनेको भन्दै उनले रोष प्रकट गरे ।

ओली समुहले आफ्ना पक्षमा गलत प्रचार गरिरहेको पनि नेपालको गूनासो छ ।

‘वालुवाटार गएर प्रभु मलाई अध्यक्ष वा प्रधानमन्बत्री बनाइदेउ भन्यो भनेर समाचार सम्पेषण गराइरहेका छन्’ नेता नेपालको गूनासो छ ।

प्रचण्डसँग बदला लिन खोजियो

नेकपा अध्यक्ष प्रचण्डका अनुसार मंसिर ४ गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि उनले स्थायी र केन्द्रीय कमिटीको एकरएक बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो र त्यसले लिएका निर्णयहरु पनि मूलभूत रुपमै सही भएको उनको दाबी छ ।

तर त्यो सफलता अर्का अध्यक्ष केपी ओलीका लागि विडम्बना बन्न पुगेको उनले बताए । अब आफूहरु रक्षात्मक हुने भयौं भनेर ओली समूहले भेला गरेर पोलिसी सिफ्ट गरेको भन्दै उनले भने, ‘पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।’

त्यही रणनीति अनुसार ओलीले पार्टी सचिवालयको निर्णयसमेत मान्दिन भनेको उनले सुनाए । पार्टीमा बहस भइरहेका बेला आफूसँग बदला दिने गरी निर्णय हुन थालेको भन्दै उनले भने, ‘मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो ।’

पार्टी बैठकमा अध्यक्षद्वयको कुर्सी हटाउनु प्रतिकात्मक विषय मात्र नभएको भन्दै उनले भने, ‘त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो ।’

पार्टीका अर्का अध्यक्ष ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको उनको आरोप छ । पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा भएको नाराबाजी जस्ता गतिविधि त्यसको प्रमाण भएको प्रचण्डले बताए । यद्यपि आफूहरु अझै पनि पार्टी एकतालाई अक्षुण राख्नुपर्छ, ओलीलाई निषेध होइन, रुपान्तरण गर्नुपर्छ भन्नेमै रहेको उनले बताए ।

प्रचण्डले भने, ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ ।’

बजेटमा समाजवादको गन्ध आएन : झलनाथ खनाल

अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको लक्ष्य समाजवादमा पुग्ने भएपछि तीन वटा बजेट ल्याउँदा त्यसमा समाजवादको कुनै गन्ध आउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

वर्तमान सरकारले तीन वटै बजेट उदारवादी अर्थतन्त्रतर्फ जाने गरी पुँजीवादी ढर्राको ल्याएको उनको टिप्पणी छ ।

वर्तमान सरकार अधोपतन, दिशाहिन र कमिसन खोरहरुको घेरामा परेको भन्दै उनले अब निकास दिनुष्पर्ने बेला आएको उल्लेख गरे । सरकारले भ्रष्टाचारलाई समेत संस्थागत गर्दै गएको उनका टिप्पणी छ ।

पूर्व एमाले हुँदै ओलीको प्रवृति समस्याका रुपमा देखा परेको उल्लेख गर्दै उनले भने, ‘एकता भएपछि पूर्वत गुटहरु अन्त्य होला भन्ने आशा थियो तर, त्यस्तो भएन । मन्त्रिपरिषदमा ओलीले एकाध बाहेक आफ्नै टुगका पनि स्वार्थ समुहभित्रकालाई लगेका छन् ।’

हुँदा हुँदा बिचौलीया र अनियमितताको आरोप लागेका अर्को पार्टीमा आस्था राख्नेहरुलाई बिभिन्न नियुक्तीहरु दिलाउने कार्यले हद नाघन् थालेको नेता खनालको टिप्पणी छ ।

पछिल्लो समयमा लगानी बोर्डको नेतृत्वमा नियुक्ति पाएका शुशिल भट्ट कांग्रेसी भएको खनालको भनाई छ । यहि सरकार वा ओलीलाई नै लिएर अर्को चुनावमा गए पार्टीले जनमत पाउन नसक्ने उनको भनाई छ ।

समग्रगमा नेता खनालले नेकपा आन्तरिक संघर्षको बडो जटिल अवस्थामा पुगेको बताए ।

आन्तरिक संघर्षमा प्रवृतिको कुरा गरिएपनि ओली र प्रचण्डका बीचमा पदका लागि लडाईं भइरहेको भन्दै गलत प्रचार भएको भन्दै उनले प्रचण्डले पार्टीलाई विधिमा चलाउनुपर्छ भनेर संघर्ष गरेको उल्लेख गरे ।

सरकार कम्युनिस्टको जस्तो देखिएन : प्रवक्ता  श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार कम्युनिस्ट पार्टीको भनिए पनि कम्युनिष्ट मूल्यमान्यताअनुसारको भएको नदेखिएको बताए ।

‘नेतृत्वलाई सच्याउन सकिन्छ कि भनेर प्रयास गरियो, तर सकिएन, अब नेतृत्वलाई नै फेरबदल गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

सरकार र पार्टी भ्रष्टीकरणको बाटोमा अगाडि बढेको उनको आरोप छ ।

नकारात्मक पात्रहरुलाई फेरेर, नेताहरुको भूमिकालाई फेरर नगए अर्को चुनावमा जान नसक्ने अवस्था आउने उनको भनाई छ । अहिलेकै जस्तै रुपमा अगाडि बढे कम्युनिस्ट नै विर्सजन भएर जान सक्ने उनको चेतावनी छ ।

 

२१ साउन २०७७, बुधवार २३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु