कुलमानको कार्यकाल सकिँदै, के घिसिङ दोहोरिएलान ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही कमाएका छन् ।
ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ ।
ऊर्जासँग सरोकार राख्नेहरु घिसिङ दोहोरिएको हेर्न चाहन्छन्
ऊर्जासँग सरोकार राख्नेहरु घिसिङकै कार्यकाल दोहोरिएको हेर्न चाहन्छन् । तर खुलेर घिसिङ दोहोरिनुपर्ने माग राख्न सक्दैनन् ।
निजी क्षेत्रका ऊर्जासम्बद्ध व्यक्तिहरु घिसिङलाई दोहोर्याउनु पर्ने माग गर्छन् ।
ऊर्जा प्रवर्द्धक एक अधिकारी भन्छन्, ‘यो सरकारको निर्णय हो । हामी कसैको पक्ष विपक्षमा खुलेर आवाज उठाउँन मिल्दैन तर हाम्रो सर्कलभित्र घिसिङ दोहोरिए हुन्थ्यो भन्ने चाहना छ । हामी कसैको व्यक्ति वा संस्थाको नाम चाहिँ नलिदिनु होला । फेरि भोलि घिसिङ भन्दा दोस्रो व्यक्ति आए हामीलाई समस्यामा पार्छन् ।’
घाटाको प्राधिकरण नाफामा, लोडसेडिङको तनाव छैन
चार वर्षअघि नेपालमा दैनिक १८ घन्टा सम्म लोडसेडिङ हुन्थ्यो । रात परेपछि आम सर्वसाधारणलाई मैनबत्ती र वैकल्पिक बत्तिको जोहो गर्न हतारो हुन्थ्यो । कलकारखानाहरू पेट्रोलियम पदार्थमा निर्भर हुन्थे ।
यस्तो बेलामा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको बलमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको आगमन भएको थियो ।
प्राधिकरणकै कर्मचारी भएकाले पनि हुनसक्छ, उनलाई विगतमै लोडसेडिङको समस्याबारे राम्रो जानकारी थियो । नेतृत्वमा आएको दुई महिनामै काठमाडौंमा लोडसेडिङ हटाएपछि उनको चर्चा चुलियो । अहिले देशभर लोडसेडिङ अन्त्य भइसकेको छ ।
घिसिङले लोडसेडिङ मात्रै अन्त्य गरेनन्, वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा समेत लगेका छन् ।
२० साउन २०७७, मंगलवार ०७:२० बजे प्रकाशित





