रुकुम घटनालाई हिन्दु धर्म शास्त्रसँग नजोडियोस् : राजपा

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विभेदलाई हिन्दु धर्म शास्त्रसँग नजोड्न आग्रह आग्रह गरेको छ ।

कतिपयले परम्परागतरुपमा दलितमाथि विभेद गरेको, नेपालीहरुको धर्म संस्कृतिको प्रभावमा विभेद रहेको र यो हिन्दु धर्म शास्त्रसँग समेत जोडिएको भनेर टिप्पणी गर्दै आएको भन्दै राजपाले आपत्ति जनाएको छ ।

खासगरी यहि जेठ १० गते ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिममा भएको घटनाबारे बोल्दा हिन्दु धर्मशास्त्रलाई समेत कमजोरीका रुपमा देखाइने गरेको भन्दै राजपाका नेता लक्ष्मणलाल कर्णले आपत्ति जनाएका हुन् ।

सांसद कर्णले हिन्दु धर्मशास्त्र आफूले पनि पढेको उल्लेख गर्दै हिन्दु शास्त्रमा कहीँ पनि विभेद र छुवाछुतको विषय उल्लेख नरहेको बताए ।

‘कहीँ पनि शास्त्रमा छुवाछुतको कुरा छैन् । अहिलेको आधुनिक युग अनुसार केही परिवर्तन गर्न आवश्यक रहे गर्न सक्छौं तर, हिन्दु धर्म शास्त्रलाई होच्याउन काम नगरौं’ नेता कर्णले भने ।
ज्ञानको कमी भए अध्ययन गरेर मात्रै बोल्न सबैलाई सांसद कर्णको सुझाव छ । ‘अध्ययन गरेर बोलौं । कुनैपनि घटनालाई गलत ढङ्गले ब्याख्या नगरौं’ उनले भने ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी प्रेमिकासँग विवाह गर्न साथीसहित गएका जाजरकोटका नवराज विकको हत्या भएको थियो । उनीसहित ६ जना साथीको शव भेरी नदीमा भेटिएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

केटा विक र केटी मल्ल थरकी हुन् । यो अन्तरजातीय विवाह रोक्न ६ जनाको ज्यान लिने काम भएको बताइँदै आएको छ ।

सरकारले यसबारे विस्तृत केही सार्वजनिक गरेको छैन् ।

२१ जेठ २०७७, बुधवार ०२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु