नेपालले जारी गरेको नयाँ नक्सा मान्दैनौं : भारत

काठमाडौं । भातरले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।

उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तत्थ्य र प्रमाणमा आधारित पनि छैन ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

प्रवक्ता श्रीवास्तवले नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि बताएका छन् । उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् ।

प्रवक्ता श्रीवास्तवले नेपालले दुईपक्षीय वार्ताका लागि वातारवण बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यस्तै प्रवक्ता श्रीवास्तवले यस विषयमा भारतको धारणाका बारेमा नेपाल राम्रोसँग परिचित भएको भन्दै ‘अनुचित कार्टोग्राफिक’ दाबीबाट टाढा राख्दै भारतीय सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेका छन् ।

उनी भन्छन्, ‘हामीलाई आशा छ कि नेपाली नेतृत्वले सीमा विवाद समाधानका लागि कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउनेछ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल

सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्शा सार्वजनिक गर्दै भूमिसुधारमन्त्री अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गर्न पाउँदा आफूहरु गौरवान्वित र पुल्कित भएको बताइन् ।

‘नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण हो’ उनले भनेकी छन् ।

नेपालले बुधबार जारी गरेको नयाँ नक्शा सार्वजनिक

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

१८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको उनले बताइन् ।

‘यो निर्णयले नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ’ भूमिसुधारमन्त्री अर्यालले भनिन्, ‘आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौ । मित्रराष्ट्र भारतले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास लिएका छौं ।’

यसअघि भारतले गत नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले गत नोभेम्बरमा जारी गरेको नयाँ नक्शा

नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट पठायो । सीमा विवादबाट सम्वाद गर्ने परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति दुई पटक प्रस्ताव गर्‍यो ।

भारतले बैठक टार्दै आएको थियो । साथै लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको कोभिड(१९ को महामारीकै बेला उद्घाटन गरेपछि नेपालले विरोध गर्‍यो । साथै तत्काल सीमा विवादबाट सम्वाद गर्न चाहृयो ।

तर भारतले फेरि कोरोना संकट समाधान भएपछि सम्वाद गर्ने भन्दै टार्न खोजेपछि नेपाल सरकारले सोमबार मन्त्रिपरिषद्बाटै नयाँ नक्सा पारित गरेको थियो ।

७ जेठ २०७७, बुधवार १५:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु