प्रम ओलीकोपक्षमा सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु भएको हो ।
अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरिएका छन ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।
बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो ।
त्यसो भए संसदीय दलमै चुनाव गरौं, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।’
प्रधानमन्त्रीले पछिल्ला तीन चार दिनयता लगातार सांसदहरुसँग भेटेर उनीहरुका कुरा सुनिरहेका छन् । सांसदहरुसँग प्रधानमन्त्रीले कमी कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने, तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ ।
पूर्वएमालेका १२१ मध्ये ओलीको पक्षमा ७८ जना रहेको थियो ।यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओलीनिकट नेताहरुले बताएका छन् ।
१७ वैशाख २०७७, बुधवार ०९:३५ बजे प्रकाशित