नयाँ सिमकार्ड लिने २७ हजारलाई सेनाले गर्यो सम्पर्क
काठमाडौँ । छाउनीस्थित सैनिक ब्यारेकमा खडा गरिएको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने सिलसिलामा नयाँ सिमकार्ड लिने मुलुकभरका करिब २७ हजार एक सय ३० जनालाई सम्पर्क गरेको छ।
यो तथ्यांक चैत २७ गते बेलुकी ४ बजेदेखि वैशाख ११ गते बिहान ८ बजे सम्मको हो।
उक्त केन्द्रअन्तर्गतको सूचना प्रविधि सेलले एनटीसी र एनसेल सिम कार्ड लिएका नागरिकलाई फोन गर्दै उनीहरुको हालको अवस्था र ट्राभल हिस्ट्री लगायतका विषयमा जान्ने कोसिस गरिरहेको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट आएका ८ सय ५१ छन्। जसमध्ये प्रदेश–१ बाट २९, प्रदेश–२ बाट ३०, वाग्मती प्रदेशबाट १ सय १०, गण्डकी प्रदेशबाट ७१, प्रदेश–५ बाट २ सय ६७, कर्णाली प्रदेशबाट २९ र सुदूरपश्चिम प्रदेशबाट ३ सय १५ जना छन्।
तीमध्ये ४७ जनामा कोराना भाइरसको लक्षण देखिए पनि २२ जना ठिक भइसकेको छ।
केन्द्रमा फोनमार्फत सम्बन्धित व्यक्तिलाई पत्ता लगाएर लक्षण बुझेपछि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडालाई खबर गरेर उक्त व्यक्तिका बारेमा जानकारी दिने गरिएको छ।
विपद् व्यवस्थापन केन्द्रले हरेक प्रदेशमा रहेको आफ्नो कार्यालयमा सम्पर्क गरेर वडा कार्यालयसम्म खबर गर्ने गरेको छ। त्यसपछि सम्बन्धित व्यक्तिलाई वडा कार्यालयले अनुगमन गरेर उसको अवस्थाको बारेमा बुझ्ने काम गरिने सेनाले जनाएको छ।
११ वैशाख २०७७, बिहीवार १४:०२ बजे प्रकाशित













