लुटपाटका लागि मकवानपुर पुगेको प्रहरीको सीआरभी टोली पक्राउ

लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको छ ।
मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सो टोलीलाइ हटाइएको थियो । उनीहरूको स्थानमा नयाँ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

सीआरभी महानगरीय प्रहरी प्रमुख पोखरेलको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सीआरभीको मनिटरिङको जिम्मा पोखरेलले एसपी रेवती ढकाललाइ दिएका छन् । सीआरभीको टोलीले प्रहरीका लागि गोप्य सूचना संकलन गर्ने गरेको छ ।
तर, सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उनीहरू पक्राउ परेको जानकारी आएको र आफूहरूले सो घटनाबारे बुझिरहेको प्रतिक्रिया दिएका छन् ।

बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भए पनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्तिबहादुर बस्नेतका भतिजा मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा खटाइएको थियो ।
उनीहरूको साथमा १ जना पत्रकारसमेत पक्राउ परेको बताइएको छ । तर, पक्राउ परेका पत्रकारको पहिचान खुलाइएको छैन

१० चैत २०७६, सोमवार ०७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु