विश्व प्रकाशको प्रश्न- अब प्रेम गर्न सरकारलाई सोध्नुपर्ने ?
काठमाडौँ । प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक पछि अर्को स्वतन्त्रता खोस्ने खालको विधेयकम आइरहेको भन्दै सरकारको आलोचना गरेका छन्। ‘के अब प्रेम गर्न सरकारलाई सोध्नुपर्ने ?’ शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता शर्माले भने ।
संसदमा दर्ता भएको नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी विधेयकतर्फ इंकित गर्दै उनले यस्तो बताएका हुन् । तर, सवतन्त्रता खोस्ने गर िआएका विधेयकलाई कांग्रेसले अगाडि बढ्न नदिने उनको चेतावनी छ ।
सरकारले नागरिकको ‘फोन ट्यापिङ’ समेत गर्न सक्ने अधिकार राखेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार हनन गर्ने दुस्साहस गरेको उनको भनाई छ ।
नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले नागरिकको फोन ट्यापीङ गर्न सक्ने अधिकार राखेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको असहमतिबीच सुचना प्रविधि विधेयक पारित गरेर सरकारको अधिनायकवादी आकांक्षलाई पुष्टि गरेको पनि बताए। ‘नेपाली कांग्रेसको प्रष्ट विमतिबीच संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी मात्रै गरेको छैन, विधेयकमार्फत् त्यो दिशामा सरकार दुई कदम अघि बढेको छ’, प्रवक्ता शर्माले भने।
सामाजिक सञ्जालमा कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप हुन नसक्ने प्रवक्ता शर्माले बताए।
सामाजिक सञ्जालको प्रयोगलाई कसरी समाजोपयोगी बनाउन सकिन्छ भनेर छलफल, बहस गर्न सकिन्छ तर कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने विधेयकलाई समर्थन गर्न सकिन्न,’ शर्माले भने।
विधेयकमा उल्लेख भए बमोजिम सामाजिक संञ्जालहरु दर्ता हुन नआए फेसबुक, ट्वीटर र इन्स्टाग्राम सरकारले बन्द गर्न चाहेको हो भनेर प्रश्न सरकारलाई सोध्नुपर्ने बेला आएको शर्माले बताए।
१८ माघ २०७६, शनिवार १२:१३ बजे प्रकाशित












