पाकिस्तानी दूतावास गएको आरोपमा समाजवादी नेतृ यादवलाई कारवाही

२९ मंसिर, काठमाडौं । समाजवादी पार्टीले केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । पार्टीलाई जानकारी नै नदिइकन पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै रेखालाई कारबाही गर्ने तयारी गरेको हो ।
भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा समाजवादी पार्टीका नेतृ रेखा यादव सहभागी भएकी थिइन् । भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।
यसविषयमा मंसिर २६ गते बसेको पदाधिकारी बैठकले रेखा यादव पार्टीको नीति विपरित कार्यक्रममा सहभागी भएको ठहर गर्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । शुरुमा उनलाई स्पष्टीकरण सोधिने र त्यसपछि स्पष्टीकरणको जवाफको आधारमा कारवाही प्रकृया अगाडि बढाइने एक नेताले बताए ।
यसअघि चीन विरोधी गतिविधिमा लागेको भन्दै सो पार्टीका नेतृ सुनिता साहलाई पनि समाजवादी पार्टीले कारवाही गरेको थियो ।
२९ मंसिर २०७६, आइतवार १५:२३ बजे प्रकाशित